काठमाडौँ । सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो ।
पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले हाल सरकारले ४१४ हिमाल आरोहणका लागि खुला राखेको र थप हिमाल आरोहणका लागि खुला गर्ने प्रक्रियामा रहेको जानकारी दिए । “गत वर्ष साउनमा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजनाबारे उल्लेख गरिएको थियो,” उनले भने, “संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमै पर्वतारोहण र साहसिक पर्यटनलाई कसरी समेटेर अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।”
संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमार्फत नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न सरोकारवाला निकायबिच छलफल पनि सरकारले गरेको छ । निर्देशक गुरुङले पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाललगायतका निकायको सहभागितामा भएको छलफलमा नयाँ पर्यटन ऐनमार्फत पर्वतीय पर्यटनलाई व्यवस्थित गर्दै हिमाली भेगका संस्कृतिको संवर्धनमा टेवा पु¥याउने, आरोही तथा पर्वतीय पर्यटनमा लागेका जनशक्तिको अभिलेख राख्ने, कोष बनाउने तथा नीतिगत व्यवस्थामा गरिनुपर्ने परिवर्तनलगायतका विषयमा सरोकारवालाले सुझाव दिएको बताए ।
“छलफल पर्वतीय पर्यटन र साहसिक पर्यटनलाई प्रवर्धन गर्न पर्यटन ऐनमा के के कुरामा नीतिगत र कानुनी सुधार गर्न सकिन्छ भन्नेबारे छलफल भयो,” उनले भने । निर्देशक गुरुङले पर्वतीय पर्यटन प्रवर्धनका लागि राज्यले विशेष महत्व दिनुपर्ने, नयाँ चुचुरा खुला गर्दै जाने, खुला गरिएका चुचुराको प्रचार प्रसारमा जोड दिने र कसरी यसमा संलग्न व्यवसायीलाई प्रोत्साहन गर्न सकिन्छ भन्नेबारे छलफल भएको जानकारी दिए ।
उनले पर्वतीय पर्यटनसँग सम्बन्धित कतिपय ऐन तथा कानुन धेरै वर्षअघि तर्जुमा गरिएकाले समयानुकूल परिमार्जन गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय निकायले लिँदै आएको पर्यटन शुल्कलाई एकद्वार प्रणालीबाट सञ्चालनमा ल्याउनेबारे छलफलमा जोड दिइएको उल्लेख गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS