काठमाडौं । पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा ९माओवादी केन्द्र० को गतिविधिलाई प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ ।
माओवादी केन्द्रको स्थायी समितिको आजको बैठकमा आफ्ना धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमै एकताबद्ध आग्रह गरे ।
उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्नका लागि पनि पार्टी अध्यक्ष प्रचण्डले नै खास पहल लिनुपर्ने र उनको नेतृत्वको विकल्प तत्काल खोज्न नहुने धारणा राखेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाका अनुसार पार्टी नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधनका उठाएको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्नेमा विकल्प खोज्ने विषय उठाउनु गलत हुने बताए ।
बैठकमा खासगरी, उच्चस्तरीय जनवादको अभ्यास भएको र सोही आधारमा उच्चस्तरको केन्द्रीकरण पैदा भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाएर लानुपर्नेमा नेताहरूले जोड दिए ।
यस्तै विचारको विकासमा जोड दिनुपर्ने, नवप्रवर्तनमा जोड दिनुपर्ने एवं आन्तरिक एकतालाई जोड दिँदै अगाडि बढ्नुपर्नेमा नेताहरूको साझा मत रहेको थियो । त्यस्तै पार्टी कार्यकर्ताको व्यवस्थापन, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेलगायत विषयमा खास नीति तथा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने स्थायी समिति सदस्यको धारणा थियो ।
अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणा समेटेर एउटा प्रस्ताव तयार पार्ने र केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी गरे । केन्द्रीय समितिको बैठकलगत्तै स्पष्ट कार्ययोजनाका साथ माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्ने तयारी गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा ११ जना स्थायी समिति सदस्यले धारणा राखे । स्थायी समिति सदस्यको धारणा राख्नेक्रम सकिएपछि आवश्यक तयारी गरेर बिहीबार अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची तय भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
FACEBOOK COMMENTS