काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ ।
कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठकले निर्माण गरेको महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको छ । तर सुझाव र छलफलका क्रममा नाम र चुनाव चिह्न परिवर्तनको कुरा उठे पनि निर्णय भई नसकेको पार्टी कार्यालय सचिव उपाध्यायको भनाइ छ ।
सङ्गठन विभागको लिखित प्रस्तावमा नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव छ । उहाँले पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषय तल्ला समितिसम्म बहस हुने र दुई महिनापछि बस्ने केन्द्रीय समितिको बैठकमा छलफलपछि जरुरी भए निर्णय गर्न पनि सकिने जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS