काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि काठमाडौँसहित देशका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र वितरण गरी क्लिनिक शुभारम्भ गरेका हुन् । आजैदेखि परिचयपत्र वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गरिएको हो ।
काठमाडौं उपत्यकामा वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा जेन–जी क्लिनिक स्थापना गरिएको छ । त्यसैगरी कोशीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र
कोशी अस्पताल, मधेशमा नारायणी अस्पताल र गजेन्द्रनारायण अस्पताल र बागमतीमा भरतपुर अस्पतालमा क्लिनिक स्थापना गरिएको छ । त्यस्तै गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी
अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।
मन्त्रालयले घाइते भएका व्यक्तिलाई उपचारमा सहजीकरण गर्न सम्पर्क व्यक्ति र फोन नम्बरसमेत सार्वजनिक गरेको छ । जसमा गृह मन्त्रालयकी उपसचिव सुप्रभा ढुंगेल (९८४१६०८३०५) र स्वास्थ्य मन्त्रालयका भक्त केसी (९८६८८२०२३४) लाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयले जनाएको छ ।
साथै घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन हुने मन्त्रालयले जनाएको छ । त्यस्तै फलो–अपमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालको सहजीकरणमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS