काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आममानिसमा प्रभाव पार्न सक्ने भएकाले चलचित्र मनोरञ्जनमा मात्र सीमित नरहेको बताएका छन् ।
आज यहाँ पर्यटन बोर्डको सभाहलमा आयोजित ‘१३औँ नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव–२०२५’ को समापन समारोहमा उनले चलचित्रमा देश विकासका तथ्यसँगै पर्यटन प्रवर्द्धनका विषयलाई जोड्न सकिने बताए । मन्त्री पाण्डेले भने, “कला र कलाकारिताको कुनै भाषा हुँदैन । भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ । यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन सक्छ । चलचित्रमा मनोरञ्जनसँगै पर्यटन प्रवर्द्धनका दृश्य समावेश भएमा त्यसले अन्तरराष्ट्रियस्तरमा हाम्रो सुन्दरतालाई प्रवर्द्धन गर्छ ।”
नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको र अर्बौं कमाई गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेकाले यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रालिको आयोजनामा काठमाडौँमा फागुन ९ गतदेखि सुरु भएको महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र, वृत्तचित्रलगायत प्रदर्शनका लागि सहभागी भएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । उनले चलचित्रबाट अफ्रिकासँग नेपाललाई जोड्न १४ वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको बताए ।
समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS