काठमाडौं । कोरियोग्राफर माइकल चन्दको निर्देशकीय डेभ्यु फिल्म ‘राम नाम सत्य’ को छायांकन चितवनबाट सुरू भएको छ ।
शुक्रबार चितवनको भरतपुर–११ जिरौनामा अवस्थित धर्मधाम मन्दिरमा क्यामेरा पूजा गरेपछि त्यहीँ चलचित्रको छायांकन सुरू भएको हो । फिल्मको चितवनमा करिब ८० प्रतिशत छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
चितवन पछि फिल्म युनिट हिमाल पारीको जिल्ला मुस्ताङ जाने बताइएको हच । फिल्ममा सुशील श्रेष्ठ र दिव्या रायमाझीको मुख्य भूमिका रहेको छ भने अभिनेता विराज भट्ट पनि महत्वपूर्ण भूमिकामा रहेका छन् ।
आगामी चैत्र २७ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा विराज, सुशील र दिव्यासहित आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह लगायतको अभिनय रहनेछ । एक्सन, सस्पेन्स तथा लभस्टोरी कथामा बन्ने यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् ।
किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS