काठमाडौँ नेचुरल इस्पिरीट्स नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।
आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
सोही सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पिरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख
कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधरणहरूलाई बिक्री गर्न लागेको छ । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, वि.सं. २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको कम्पनी हो ।
छोटो समयमा लोकप्रिय बनेको यो कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने, यसको केन्द्रीय कार्यालय काठमाडौँको हाँडीगाउँमा रहेको छ ।
परिवारीक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको हो ।
उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ ।
२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११,००० लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५,००० लिटर क्षमताका एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए) ट्याङ्कहरू रहेका छन् ।
कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले ‘सरङ्गी व्हिस्की ४० युपि’ र ‘सेतो बाघ भोड्का ३० युपी नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ,
जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ । निकट भविष्यमा कम्पनीले ‘रारा ब्लुज ४० युपि’ नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।
गुणस्तरलाई उच्चतम प्राथमिकतामा राख्दै उत्पादन र बजार विस्तार गर्ने लक्ष्यसहित, नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले आगामी दिनमा निरन्तर नवप्रवर्तन, ग्राहक सन्तुष्टि र दिगोपनप्रति प्रतिबद्ध रहि नेपाली
मदिरा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित हुने लक्ष्य लिएको कम्पनीको अध्यक्षले जनाएको छ ।
FACEBOOK COMMENTS