काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको साधारण शेयर (आईपीओ) मुक्तिनाथ क्यापिटलले व्यवस्थापन गर्ने भएको छ ।
निभिक्सले जारी गर्न लागेको १३ लाख ७५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग आज बुधबार सम्झौता गरेको छ ।
सम्झौता पत्रमा निष्काशन कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र बानियाँ र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल, चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेल को पनि सहभागिता रहेको थियो ।
२०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्सले मिति २०८१ पुस २ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई औषधि व्यवस्था विभागबाट समेत उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको छ । कम्पनीले हाल ५६ प्रकारका औषधिहरू उत्पादन तथा बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले मुख्य रुपमा मुटु रोग, मधुमेह, श्वासप्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरूको उपचारमा प्रयोग हुने औषधिहरू उत्पादन गर्दै आइरहेको छ तथा नयाँ औषधिहरूमा अनुसन्धान तथा उत्पादन विस्तारको तयारी पनि गरिरहेको छ ।
FACEBOOK COMMENTS