काठमाडौं। मुक्तिनाथ फुड बैंकले शेयर निष्काशनको तयारी थालेको छ।
कम्पनीले संस्थागत परामर्श सेवाका लागि मुक्तिनाथ क्यापिटललाई परामर्शकर्ता नियुक्त गर्दै औपचारिक सम्झौता सम्पन्न गरेको हाे।
संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता मुक्तिनाथ फुड बैंकका सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरी टुंगो लगाएका हुन्।
मुक्तिनाथ क्यापिटलले कम्पनीको स्थापना कालदेखि लिएर प्राथमिक शेयर निष्काशन (IPO) सम्मको सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ। यस सम्झौताले पूँजी संरचना पुनःसंरचना, हकप्रद शेयर निष्काशन, पूँजी संकलन तथा अन्य कानुनी र प्राविधिक प्रक्रियाहरूमा आवश्यक सहजीकरण गर्नेछ।
कम्पनीले यही वैशाख १७ गते विशेष साधारण सभा आह्वान गरेको छ, जसबाट हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गरी चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा ४० करोड रुपैयाँ बराबरको चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ भित्रमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।
मुक्तिनाथ फुड बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीको रूपमा २०७९ सालमा स्थापना भएको हो। कम्पनीले खाद्यान्न लगायत उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रका वस्तुहरू उत्पादन, संकलन, प्रशोधन र बजारीकरणमार्फत कृषकलाई बजार सुनिश्चितता र उपभोक्तालाई गुणस्तरीय, नेपालमै उत्पादित खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्य लिएको छ।
FACEBOOK COMMENTS