काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र काउले भाइनयार्ड रिसोर्ट प्रालिबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।
एक कार्यक्रमका बिच काउले भाइनयार्ड रिसोर्टका तर्फबाट निर्देशक इन्द्रबिर महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन तथा व्यवस्थापन लगायतका कार्य गर्न आवश्यक परामर्श दिने तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि उक्त सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा सार्वजनिक निष्काशनको तयारी तथा व्यवस्थापनको लागि महत्वपूर्ण पक्षहरू समावेश गरेको रिसोर्टका अध्यक्षले जानकारी गराएको छ ।
धादिङको शान्त र सुन्दर पहाडी क्षेत्रमा अवस्थित करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको काउले भाइनयार्ड रिसोर्ट नेपालको पहिलो अंगुरखेतीमा आधारित पर्यटन स्थल तथा नेपालको वाइन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको रिसोर्टका अध्यक्षले जानकारी गराएको छ ।
वाइन प्रेमी, प्रकृति पारखी, विश्राम चाहने र नयाँ स्वाद तथा अनुभवको खोजीमा रहेका आगन्तुकहरूका लागि यो रिसोर्ट एक उत्कृष्ट गन्तव्य बन्ने लक्ष्यमा अघि बढिरहेको छ, जसले आगन्तुकहरूलाई अन्तर्राष्ट्रिय स्तरको वाइन र भाइनयार्ड अनुभव प्रदान गर्दछ ।
काउले भाइनयार्ड रिसोर्टले आधुनिक प्रविधि र परम्परागत शैलीलाई मिश्रण गरी अंगुर खेती र वाइन उत्पादनका साथै पर्यटकलाई अंगुर बगैंचाको अवलोकन, वाइन टेस्टिङ, स्थानीय परिकार, होम–स्टे अनुभव र प्रकृति नजिकको विश्रामको अवसर प्रदान गर्दछ ।
केवल वाइन उत्पादनमा सीमित नभई, ग्रामीण रोजगारी सृजना, कृषक सशक्तीकरण, दिगो पर्यटन र समुदाय विकासमा समेत सक्रिय रहने र यसले पर्यटकलाई नेपालकै मौलिक स्वाद र संस्कृति अनुभव गर्ने मौका दिने मात्र नभई, देशको कृषि र पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन योगदान दिने समेत अध्यक्षले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS