काठमाडौं । मुकुल ढकाललाई यसअघि महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
मंगलबार बिहान बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई यस कारबाहीको निर्णय गरेको हो ।
रास्वपाले साधारण सदस्यबाट किन नहटाउने भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।
ढकालले दुवै पटक जवाफ दिँदा सभापति रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ठग भएको प्रमाणित आफूले गर्न सक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए ।
२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिनभित्र कारबाहीउपर पुनरवलोकन गर्ने अवधि दिइए पनि ढकालले पुनरावेदन गरेनन् ।
आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
FACEBOOK COMMENTS