काठमाडाैं । अमेरिकामा गोली प्रहार गरी हत्या गरिएकी २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्या आरोपमा ५१ वर्षीय बबिसिंह शाह पक्राउ परेका छन् ।
गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टनमा मुनाको हत्या आरोपमा प्रहरीले बुधबार शाहलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
शाहविरूद्ध दुईवटा मुद्दा दर्ता भएकाे छ । बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले शाहविरूद्ध हत्या र गैरकानुनी हातहतियारको कसुरमा मुद्दा दर्ता गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शाह बुधबार स्थानीय समयअनुसार राति ९ बजे पक्राउ परेका थिए । त्यसअघि प्रहरीले सीसीटिभी फुटेजबाट प्राप्त भएको उनको तस्बिर सार्वजनिक गरेको थियो ।
उनलाई हत्या मुद्दामा ३ अक्टोबर र गैरकानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दामा अक्टोबर ५ मा अदालतमा उपस्थित गराइने बताइएको छ ।
सरकारी वकिल कार्यालयको स्टेटमेन्टमा डकैती गर्ने क्रममा शाहले मुनामाथि गोली चलाएको भनिएको छ ।
मुना सोमबार साँझ आफू बस्ने अपार्टमेन्टमा मृत भेटिएकी थिइन् । शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा उनको शव भेटिएको थियो ।
पक्राउ परेका शाहलाई बिहीबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई जमानतमा छाड्न अस्वीकार गरिसकेको छ ।
उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ। ।
भोजपुर घर भएकी मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ पढ्दै थिइन् ।
FACEBOOK COMMENTS