काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।
दुई संस्थाबीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेको सहमति भएको छ ।
उक्त सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहोरा र नेरुडे लघुवित्तका तर्फबाट अध्यक्ष डा। भेषप्रसाद धमलाले हस्ताक्षर गरे । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्याल रहने सहमति भएको छ ।
मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको नेरुडे लघुवित्तको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । त्यस्तै काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरकै मिर्मिरे लघुवित्तको चुक्ता पुँजी ५२ करोड २१ लाख रुपैयाँ रहेको छ ।
नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै मिर्मिरे लघुवित्तले पनि आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS