काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू अन्तत: सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरू गत आइतबारदेखि सम्पर्कविहीन थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कविहीन रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।
‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापक पारिएको थियो,’ उनले भने, ‘केहीबेरअघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।’
त्यसैगरी, आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाँडी गाउँपालिका–२ का तीन जना महिलालाई गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले उद्धार गरेको थियो । उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न गएका तीनवटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।