काठमाडौं । सिटिजन्स क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी योजना सिटिजन्स सदावहार योजनाको इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।
असार १३ देखि निष्कासनमा रहेको यस योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अङ्कित मूल्यका ५ करोड इकाइ निष्कासन गरिएको छ । यसमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ सङ्ख्याको १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखिएको छ भने बाँकी ४ करोड २५ लाख इकाइ सामान्य लगानीकर्ताका लागि उपलब्ध गराइएको छ ।
५० करोड रुपैयाँको कुल आकार भएको खुलामुखी प्रकृतिको यो योजना सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजना हो । योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल हो ।
लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, ‘मेरोशेयर’ एकाउण्टमार्फत सी–आस्बा प्रणालीबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस योजनाको कोष प्रवर्द्धलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी प्लस’ र योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ प्रदान गरेको छ ।
FACEBOOK COMMENTS