काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति मोतीलाल दुगड ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
“तपाईंको एक थोपा, कसैको जीवन” भन्ने मूल नारासहित माघ ४ गते २०८२ (जनवरी १८, २०२६) मा कार्यक्रम आयोजना गरिएको हो।
ग्रुपका अटोमोबाइल र हाइड्रो डिभिजनका कर्मचारीहरूको सक्रिय सहभागितामा सातै प्रदेशका २० स्थानमा एकै दिन रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक तथा अन्य साझेदार संस्थाको सहयोगमा सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न कार्यक्रममा कुल ५७८ जनाले रक्तदान गरेका छन्। संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ।
संकलित रगतमध्ये वीरगञ्ज, बुटवल र धनगढीमा तीन जना बिरामीको तत्काल ज्यान जोगाउन सफल भएको जानकारी पनि ग्रुपले दिएको छ। कार्यक्रममा कर्मचारीहरूसँगै स्थानीय बासिन्दा, इष्टमित्र तथा विभिन्न वर्गका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एमभी दुगड ग्रुपले यस अवसरमा सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै अध्यक्ष दुगडको दीर्घायु, सुस्वास्थ्य तथा निरन्तर प्रगतिको कामना गरेको छ। ग्रुपका अनुसार मोतीलाल दुगड उद्योग र व्यापारसँगै समाजसेवा, वातावरण संरक्षण र स्वास्थ्य चेतनाका पक्षमा सक्रिय रहँदै आएका छन्।

करिब १५० वर्षको इतिहास बोकेको एमभी दुगड ग्रुपको व्यवसायिक सञ्जाल मेचीदेखि महाकालीसम्म फैलिएको छ। अटोमोबाइल, कृषि, जलविद्युत र निर्माण क्षेत्रमा सक्रिय ग्रुपले हाल १६१ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ भने दोलखामा करिब २०० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।

FACEBOOK COMMENTS