काठमाडौं । नेपाल एयरलाइन्स (एनएसी)को जहाजमा यात्रा गर्दा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत छूट पाउने भएका छन् ।
नेपाल एयरलाइन्स र विद्युत प्राधिकरणबीच आज सोमबार यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५ देखि १० प्रतिशत छूटट पाउने छन् ।
सम्झौता कार्यक्रममा पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र डुब्न लागेको कम्पनीलाई उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे ।
FACEBOOK COMMENTS