कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
अटो मोबाइल्स क्षेत्रको दायरा बृहत् र विद्युतीय सवारी साधनको प्रयोग बढ्दो भएको हुँदा सरकारले अटो क्षेत्रको नीतिगत सुधार गर्नुपर्ने बताए ।
उनले भने, ‘सवारी साधनबाट लिने कर घटाउनुपर्छ । छिमेकी मुलुक भारतको तुलनामा चार गुणा महँगो भएको छ, करभन्दा पनि दायरा बढाउनुपर्छ ।’ मौद्रिक नीतिमार्फत हायर पर्चेज दर घटाउनुपर्ने बताए ।
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नितिगत अस्थिरताका कारण अर्थतन्त्र सुधार हुन नसकेको बताए। उच्चस्तरीय आर्थिक सुधार आयोगले कतिपय नीतिहरू सुधार गर्नुपर्ने बताए ।
‘आर्थिक क्रियाकलाप खुम्चिएको अवस्थामा नीति बलियो बनाउनुपर्छ । खनिज निर्यातलाई अघि बढाउनुपर्छ,’ उनले भने, ‘वातावरणीय प्रभावलाई खलल नपुग्ने गरी खनिज निर्यात गर्नुपर्छ । यस्तो कुरामा भावनामा बग्न हुँदैन ।’
बैंकको ब्याजदर एकल अंकमा आएको अवस्थामा पनि लगानी बढन नसकेको भन्दै तत्काल नीतिगत परिवर्तन नगरे अझ आर्थिक मन्दी बढन सक्ने बताए ।
राजेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ
विदेशी मुद्रा सञ्चिति पर्याप्त भए पनि अर्थतन्त्र चलायमान बन्न नसकेको बताए । ब्याजदर एकल अंकमा आए पनि लगानी बढ्न नसक्दा आम रूपमा निराशा रहेको बताए ।
उनले भने, ‘पछिल्लो समय अटो क्षेत्र केही चलायमान भए पनि उल्लेख्य हुन सकेको छैन, सरकारले यसलाई चलायमान बनाउने नीति ल्याउनुपर्छ ।’
देवेन्द्र दाहाल, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेपालको अर्थतन्त्रमा अटो क्षेत्रमा ठूलो योगदान रहेको बताए । उनले भने, ‘तपाईंहरूले बिजनेस मात्र गरिराख्नुभएको छैन, अर्थतन्त्रलाई ठूलो योगदान पु¥याउनुभएको छ । यसमा चिन्ता तपाईंहरूको मात्र होइन, हामी नेतृत्वकर्ताको भूमिका हुनुपर्छ ।’
अब आयात मात्र नभई यहीँ उत्पादन गर्ने अवस्थामा पुग्नुपर्ने बताए । उनले भने, ‘अहिले एसेम्बल गर्ने अवस्थामा पुगेका छौं, अब निर्माणमै पुग्नुपर्छ ।’
भौतिक पूर्वाधारलाई व्यवस्थित र दीर्घकालीन बनाउन लागिरहेको बताए । उनले भने, ‘मौद्रिक नीति कस्तो आउनुपर्छ र आउँछ भन्ने कुरा व्यवसायीलाई पहिले थाहा हुनुपर्छ ।’
सरकारले विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने तर यो मात्र विकल्प र समाधान नभएको उनको भनाइ छ ।
उनले भने, ‘सरकारले व्यवसायीलाई मात्र पेल्ने नीति ल्याउनु हुन्न, त्यसलाई अहिलेको सरकारले सहजीकरण गर्छ/गरिरहेको छ ।’
करण चौधरी, अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
अटो क्षेत्रलाई अझ मूल्यांकन गर्नुपर्ने बताए । पछिल्लो समय देखिएको आर्थिक अवस्थाले अटो मोबाइल्स संकटतर्फ धकेलिएको हो कि भन्नेमा पुगेको बताए ।
उनले भने, ‘एक लाख बढी जनशक्ति र १० लाख अप्रत्यक्ष रोजगार दिएको, यो पनि संकटमा देखिन्छ । त्यतातिर सोच्ने कि नसोच्ने ?’
देशको राजस्वमा संकलनमा २१ प्रतिशत योगदान यो क्षेत्रको रहेको भन्दै अहिले आर्थिक मन्दीले घट्दो क्रममा छ यसले कति संकट भने देखाएको उनको भनाइ छ।
उनले भने, ‘मौद्रिक नीतिले अटोलाई पूरै बायस गरेको देखियो, यसलाई गम्भीर रूपमा नलिने हो भने अटो क्षेत्र विलीन हुन सक्ने अवस्था आउने छ ।’
सरकारले अटोलाई प्रोत्साहन गर्न पुनः एक पटक दीर्घकालीन रणनीति ल्याउनुपर्ने उनको भनाइ छ ।
अब विद्युतीय सवारी साधनको विकल्प नरहेकाले यसलाई अझ प्रोत्साहन गर्नुपर्ने बताए ।
FACEBOOK COMMENTS