काठमाडौं । पुस १९ गते हेटौंडामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, हेटाैंडा अटोमोबाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन भएको हो ।
पुस २० गते हेटौंडामा सम्पन्न हेटाैंडा अटोमोबाइल्स एशोसिएशनको २४औं वार्षिक साधारणसभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा उपस्थित सदस्यहरूले अटोमोबाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरूका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञसाहरू राखेका थिए ।
कार्यक्रममा खासगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको एमआरपीका विषयमा, भन्सार मूल्यांकनको समस्या, साफ्टाअन्तर्गत आएका अटोमोबाइल वस्तुहरू, झोले व्यापारीले पुर्याएका समस्या, मधेस प्रदेशमा बिना प्यान नम्बर सञ्चालित तीन हजार पसलहरूका कारण अन्य व्यवसायीहरूलाई परिरहेको नकारात्मक असर, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखासम्बन्धी समस्याहरू, सदस्यहरूको हितका लागि भलाइ कोषको व्यवस्था, व्यवसायमा चेक बाउन्सको व्यावहारिक समस्या, अटोमोबाइल व्यवसायीहरू इन्स्योरेन्समा आबद्ध नहुँदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरूलाई साधारणसभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरी दिनुपर्ने जस्ता विषयहरूमा विस्तृत छलफल भएको थियो ।
छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरूको प्रत्युत्तरसमेत दिएका थिए भने भने नाडाका केन्द्रीय कार्यसमितिका सदस्य सुनिल रिजाललेस्पेयर पार्टस र एमआरपीका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरूलाई कर, भन्सार र भिसिटियससम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकाससम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए । अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौंडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए ।
कार्यक्रममा नाडाका तर्फबाट संस्थागत सदस्य कुलबहादुर क्षेत्री, केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्यसमिति आमन्त्रित सदस्यद्वय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति थियो । त्यसैगरी हेटौंडा अटोमोबाइल्स एशोसिएशनका निवर्तमान अध्यक्ष दामोदर अटल, वरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दीपेन्द्रकुमार उपे्रती, सचिव सञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कँडेल, कार्यसमिति सदस्यहरू उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रीय संयोजक दिपेश खड्गीको उपस्थिति थियो । त्यसैगरी जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवालको पनि उपस्थिति थियो ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनुअघि हेटौंडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली ब्याडमिन्टन प्रतियोगितासमेत सम्पन्न गरिएको थियो । कुल ८ टिमबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकामा चितवन अटोमोबाइल्स एशोसिएशनका पूर्वअध्यक्ष अमृत जोशी र कार्यसमिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो । यस किसिमका कार्यक्रहरूले नाडा र नाडाका संस्थागत एशोसिएशनहरूबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरू नाडाले विगतमा पनि गर्दै आएको र आउदा दिनहरूमा पनि गर्दै जाने बताएको छ ।
FACEBOOK COMMENTS