पछिल्लो समय नेपालको अटोमोबाइल क्षेत्रमा युवा व्यवसायीहरूको वर्चश्व छ । नेपालमा सबैभन्दा पहिला फोर्ड गाडी भित्र्याउनेदेखि अहिले नयाँ–नयाँ टेक्नोलोजीमा आधारित इलेक्ट्रिक भेहिकल (ईभी) भित्र्याउने अधिकांश कम्पनीका नेतृत्वकर्ताहरू युवा छन् । उनीहरूयो युवा जोश र जाँगरले नेपालको अटोमोबाइल क्षेत्रले दिनप्रतिदिन फड्को पनि मार्दै गइरहेको छ । नयाँ–नयाँ प्रविधिसँग अभ्यस्त रहेको युवा पुस्ताले नयाँ–नयाँ गाडीहरू नेपाल भित्र्याउने प्रतिस्पर्धा गर्दा नेपालको अटोबजारमा विविधिकरण समेत आएको छ ।
त्यतिमात्र होइन नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको हकहित र अधिकार रक्षाका लागि स्थापित नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालको नेतृत्व समेत युवा पङ्क्तिले नै गरिरहेका छन् । मुलुकको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत रहेको सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीका छोरा करण चौधरीले नाडाको नेतृत्व गरिरहेका छन् भने वरिष्ठ उपाध्यक्षमा गोल्छा ग्रुपका युवा उद्यमी आकाश गोल्छा छन् ।
त्यस्तै, उपाध्यक्षमाहरूमा पनि युवाहरूकै जमात छ । पुष्कर राज ओझा, तेजनारायण शाह, राजन बाबु श्रेष्ठ, निराकार श्रेष्ठ यो संस्थाका उपाध्यक्ष हुन् । यसैगरी, महासचिवमा सुरेन्द्र कुमार उप्रेती (सुरेश), सचिवमा विक्रम सिंघानीया, कोषाध्यक्षमा मिलन बाबु मल्ल, सह–कोषाध्यक्षमा पङ्कज अग्रवाल रहेका छन् । यो संस्थाको सदस्यहरूमा कृष्ण प्रसाद श्रेष्ठ, कुलबहादुर क्षेत्री, गणेश प्रसाद भटराई, भद्र भण्डारी, सञ्जय कुमार श्रेष्ठ, कपिल सिबाकोटी, दिपेन्द्र कुमार मिश्र, नवराज भुषाल, प्रकाश कपुरी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, रिद्धि कार्की, सञ्जय कुमार खेतान, सुनिल रिजाल, सौरव थापा, अभीक ज्योति, निलमणि पाठक, निशान ढकाल, मेघराज पौडेल, सन्तोष बहादुर श्रेष्ठ रहेका छन् ।
त्यस्तै, आमन्त्रित सदस्यहरूमा अनुप कुमार बराल, केदार कुमार अग्रवाल, दीपक कुमार अग्रवाल, दिपकराज गिरी, तोयानाथ खनाल, नवीन कुमार प्रकाश, नारायण प्रसाद पौडेल, प्रकाश सिक्देल, प्रगुण राजभण्डारी र सागर सापकोटा रहेका छन् ।
यीनै युवा जोश र जाँगरले भरिएका युवाहरूको नेतृत्वकै कारण मुलुकको अटोमोबाइल व्यवसायले तीव्र गति लिइरहेको छ । तर, राज्यले भने यो व्यवसायलाई आवश्यकता अनुसार महत्व नदिँदा मुलुकै अर्थतन्त्रमा शिथिलता आइरहेको छ । सरकारको अस्थिर नीतिको शिकार अटोमोबाइल क्षेत्र बनिरहँदा यी युवा व्यवसायीहरू निकै चिन्तित र पीडित पनि छन् । राज्यले स्पष्ट र स्थिर नीति नलिँदा मुलुकको अर्थतन्त्रमा गम्भीर धक्का पुगिरहेको छ ।
तर, अनेक प्रतिकुलताका बीचबाट पनि यी युवा व्यवसायीहरूले मुलुकको अटोमोबाइल बजारलाई चलायमान बनाउन अनेक प्रयत्नहरू गरिरहेको देखिन्छ । त्यसैमध्येको एक हो ‘नाडा अटो शो, २०२४’ । उनीहरूकै सक्रियताले यो क्षेत्रले नेपालमा एक किसिमको उचाई प्राप्त गरेको छ भने यो व्यवसायको ग्ल्यामरसलाई पनि जीवित राख्न सफल बनिरहेका छन् ।
सुन्दर तथा ठूला–ठूला शोरूमहरूले जोकोहीलाई मोहित पार्छन् । अझ नाडाले गर्ने व्यापार मेला नाडा अटो शोले देशलाई नै मोहित पार्दै आएको छ । अहिले राज्यको विद्युतीय गाडी र पेट्रोलियम गाडीको फरक नीतिका कारण यी युवा पुस्तामा पनि कोही निराश त कोही उत्साहित देखिन बाध्य भएका छन् । यद्यपि, नाडाले लिएको कार्यक्रमिक योजनालाई सफल पार्न सबै युवा व्यवसायीहरू हातेमालो गरेर लागेका छन् ।
नेपालमा झण्डै एक लाख किलोमिटर सडक बनिसकेको छ भने ३५ हजार किलोमिटर भन्दा बढी सडक कालोपत्र भइसकेका छन् । नेपालमा बनिसकेका सडकले करिब चार करोड सवारी साधान धान्न सक्ने विज्ञहरू बताउँछन् । त्यस आधारमा पनि नेपालमा अगामी वर्षौँ वर्षसम्म अटो व्यवसायको भविष्य सुनिश्चित गरेको देखिन्छ । तर, त्यसका लागि यी युवाहरूले आफ्नो बजार विस्तारका लागि राज्यलाई निरन्तर झकझकाइ रहनुपर्ने छ ।
सहरी क्षेत्रको अत्यधिक जाम, राजमार्गको दुरगति र रोड सेफ्टीमा सरकारको गलत नीतिहरू भविष्यमा यस व्यवसायको तगारो बन्न सक्छन् । त्यसैले पनि अटोमोबाइल व्यवसायलाई एउटा ‘रोडम्याप’नै बनाएर अगाडि बढाउन जरुरी छ । नेपालमा शिक्षा र स्वास्थ्यलगायत पूर्वधार निर्माणमा निजी क्षेत्रको भूमिका सधैं अगाडि आउँछ । यस्तै अव पूर्वाधारदेखि राजमार्ग, सार्वजनिक यातायात र निजी यातायातसम्मको साझा एजेण्डा बनाउन निजी क्षेत्रले भूमिका खेल्न ढिला गर्न हुँदैन । अन्यथा भाग्यको बलमा मात्र व्यवसाय गर्ने दिन नआउला भन्न सकँदैन ।
FACEBOOK COMMENTS