काठमाडौं।आज मंगलबारबाट काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अटो शो को सुरु गरेका हुन् । कोरोना महामारीदेखि रोकिएको १५औं संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।
१ सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ। शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ। यो पटकको शोमा हुन्डाईको एक्सटर, सुजुकी जिम्नी र फ्रोंस, टाटा पन्च, बिवाइडी डल्फिन, एमजी कोमेट र एमजी–४ लगायत नयाँ गाडी देख्न पाइने छ भने सेरेस, स्काइवेललगायत नयाँ ब्रान्ड पनि देख्न पाइने छ।
विद्यमान बजार सुस्तताबीच शोमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यसखालको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पारेको नाडाले जनाएको छ । शो बाट बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ। सँगसँगै चाडपर्वका पूर्वाद्र्धमा आयोजना हुन गइरहेको शोले अटो व्यवसायी, ग्राहकवर्ग, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्नलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ।
प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी सस्था तथा अवलोकनकर्ताको चाप बढ्दै गइरहेका सन्दर्भमा शोले सवारीसाधनलाई विलासितामात्र नभई सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनका रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ। शोमा ठूला तथा साना गरी करिब १ सय २० स्टल र ब्लक रहेका छन्। शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने छ।
शोमा १६ ब्रान्डका चारपांग्रे तथा २२ ब्रान्डका दुईपांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेइकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको छ।
FACEBOOK COMMENTS