काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्ष सहमतिमै चयन हुने सम्भावना बढेको छ ।
अगामी २० र २१ गते हुने निर्वाचनका लागि मैदानमा उत्रिएका अध्यक्षका उम्मेदवारद्वय आकाश गोल्छा र करण चौधरीबीच सहमतिमै अध्यक्ष चयन गर्ने सहमति जुटेसँगै नाडामा नयाँ सम्भावना पैदा भएको हो । उम्मेदवारद्वय गोल्छा र चौधरीबीच आजै राति निर्णायक वार्ता हुने नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
‘लगभग आज हामी सहमतिमा पुग्छौँ होला,’ अध्यक्ष थापाले भने, ‘उम्मेदवारहरू सहमतिमा अध्यक्ष छान्न सहमत भइसकेपछि आज हामी पूर्वअध्यक्षज्यूहरूको रोहवरमा उहाँहरूसँग छलफल गर्दैछौँ । सम्भवत: आज हामी सहमतिमा पुग्नेछौँ र रातिसम्म केही निष्कर्ष आउने छ ।’
स्रोतका अनुसार उम्मेदवारद्वय गोल्छा र चौधरीले आ–आफ्नो दाबी त छोडेका छैनन् तर, एउटा कार्यकालमा एक जनालाई सहयोग गरेर अघि बढ्ने कुरामा भने सहमति जुटेको छ । सोही सहमतिलाई आधार बनाएर आज छलफल हुने र रातिसम्म बसेर भए पनि टुङ्गो लगाउने तयारी भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS