काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोबाइल क्षेत्रको उत्थानका लागि स्पष्ट र लगानीमैत्री नीतिको माग गरेको छ ।
आज आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेको हो ।
भेटका क्रममा अध्यक्ष उप्रेतीले वर्तमान सरकारबाट अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने गरी नयाँ नीति आउने अपेक्षा व्यक्त गरे । ‘अटोमोबाइल क्षेत्रलाई प्राथमिकता दिँदा सरकारको राजस्वमा वृद्धि हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ,’ उनले भने । अध्यक्ष उप्रेतीले नाडाको तर्फबाट ३६ बुँदे लिखित सुझाव समेत पेश गरेका छन् ।
राजस्वको दायरा बढाउन सरकार सकारात्मक
जवाफमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार राजस्व सङ्कलन वृद्धिका लागि गम्भीर रहेको बताए । राजस्व बढ्ने सुनिश्चितता भएमा करको दर घटाउन सरकार तयार रहेको र आगामी बजेटमा निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिएका छन् । ‘सरकारले अनियमितता हटाउन पहल गर्नेछ र सडक पूर्वाधारमा ठूलो लगानी गर्ने योजना बनाएको छ,’ मन्त्री वाग्लेले भने, ‘बजेट निर्माणको सन्दर्भमा नाडासँग पुन: विस्तृत छलफल गरिनेछ ।’

स्वदेशी उद्योगका चुनौती र गुणस्तर मापनको अभाव

छलफलका क्रममा अध्यक्ष उप्रेतीले नेपालमै टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स र हेलमेट जस्ता वस्तु उत्पादन भइरहे पनि सरकारसँग गुणस्तर मापन गर्ने आवश्यक यन्त्र नहुँदा व्यवसायीले सास्ती भोग्नुपरेको गुनासो गरे । उनले आयातित कच्चा पदार्थमा छुट दिनुपर्ने र सीकेडी (सीकेडी) उद्योगहरूलाई परेका कठिनाइ सम्बोधन गर्न आग्रह गरे ।

विद्युतीय सवारी र चोरी निकासी नियन्त्रणमा जोड
नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले नेपालमा विद्युतीय सवारी साधन (ईभी) को सम्बद्र्धनका लागि ठोस नीतिको खाँचो रहेको औँल्याए । भारतमा जीएसटी घटेका कारण सीमा क्षेत्रबाट हुने चोरी निकासी बढेको तर्फ ध्यानाकर्षण गराउँदै उनले सीमामा कडाइ गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा ‘अटोमोबाइल कम्पोनेन्ट’ उद्योगको प्रचुर सम्भावना रहेको बताए । उपाध्यक्ष विक्रम सिंघानियाले स्वदेशी उद्योगहरूलाई विशेष प्रोत्साहन दिनुपर्नेमा जोड दिए ।
भेटघाटमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठक लगायतको उपस्थिति रहेको थियो ।