काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाडाले सबै पक्षलाई संयमता अपनाउँदै संवाद र आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमा नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएकाले विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्ण्ॉता र भाइचारालाई जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।
नाडाले संविधानले नागरिकलाई आफ्ना विचार, असहमति र माग शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरे पनि हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ।
विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षासँगै आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै व्यवसायी समुदाय यसप्रति चिन्तित रहेको जनाइएको छ।
नाडाले नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति–सुरक्षा कायम गर्दै नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्न, सामान्य जनजीवन र व्यवसायिक वातावरण यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ।
साथै, सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्ण्ॉतालाई थप सुदृढ बनाउन सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेको छ।