काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब-काउन्सिल (सीसीपीआईटी-अटो) बीच अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्त्वपूर्ण सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि जारी चार दिवसीय औपचारिक चीन भ्रमणका दौरान नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलले चिनियाँ व्यापारिक प्रतिनिधिमण्डलसँग उक्त सम्झौता गरेको हो ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रतीको उपस्थितिमा पूर्वनिर्धारित कार्यक्रमअनुसार दुई देशका व्यापारिक प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा छलफल भएको थियो । सोहीबीच नाडा र सीसीपीआईटी-अटोबीच ऐतिहासिक साझेदारीपत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालतजस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।
सम्झौताअन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रूचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ ।
यस्तै, सीसीपीआईटी-अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।
यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्यसमूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने जलनाइएको छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरू गर्ने दिशामा ठोस कदम हो ।
FACEBOOK COMMENTS