काठमाडौं । आम अटोमोबाइल व्यवसायीहरूको ‘चाड’का रूपमा १७औँ संस्करणको ‘नाडा अटो शो, २०८१’ हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको अटो शो विगतको भन्दा निकै भिन्न र ऐतिहासिक रहेको बताइएको छ । मुलुकको अटो मोबिलिटीलाई ‘एअर मोबिलिटी’तर्फ उन्मुख गराउने प्रस्थानविन्दुका रूपमा यो नाडा अटो शो आयोजना भएको नाडाका अध्यक्ष करण चौधरीले बताएका छन् ।
उक्त शो हिजो भव्य समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् भने शोको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको ‘फ्लाइङ ट्याक्सी’ सार्वजनिक पनि गरेका छन् । सोही ट्याक्सीको प्रदर्शनीले मुलुकलाई एअर मोबिलिटीतर्फ उन्मुख गराएको नाडाको दाबी छ ।
उद्घाटन समारोहमा कसले के भने ?
नेपालको अटोमोबाइल क्षेत्र नयाँ भविष्यमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोमा ल्याइएको दिपलको ‘फ्लाइङ् कार’ले नयाँ भविष्यको यात्रामा प्रवेश गरेको बताएका छन् । नाडाको ४९ वर्षको यात्रामा अहिले युवाले नै नेतृत्व गरिहहेको बताउँदै यो नेतृत्व भविष्यको कल्पना, प्रविधिप्रतिको विश्वास र मुलुकको समृद्धिको योजनासहितको विचार यात्रा भएको बताए । प्रधानमन्त्री ओलीले नाडा अटो शो केवल एक प्रदर्शन नभई भविष्यको प्रारम्भिक सङ्केतका रूपमासमेत व्याख्या गरे ।
उनले आधुनिक प्रविधिहरू, विशेष गरेर कार्यक्रममा देखिएको रोबोटिक प्रस्तुति र नवीनतम अटोमोबाइल्सलाई यात्राको सुरुवात मात्र भएको भन्दै, भविष्यमा अझ ठूलो फड्को मारिने विश्वास व्यक्त गरे । अटो मोबाइल क्षेत्रलाई अगाडि बढाउनका लागि उनले इन्फ्रास्ट्रक्चरको विकास, नीतिगत स्थायित्व र सरकारको उद्यममैत्री दृष्टिकोणको आवश्यकता औँल्याए ।
त्यस्तै, पुल, सडक, रेलवे, विमानस्थल, र इन्टरनेशनल कनेक्टिभिटीमा भइरहेको प्रगतिको विस्तृत विवरण दिँदै मुलुक आधुनिक युगमा प्रवेश गरिसकेको दाबी पप्रधानमन्त्री ओलीको छ । उनले अब नेपालमा सिंगल लेन होइन, डबल लेन बाटाहरू निर्माण हुने पनि जानकारी गराए ।
प्रधानमन्त्री ओलीले भने, ‘ऊर्जा क्षेत्र, विशेषगरी इलेक्ट्रिक भेहिकल र ग्रीन हाइड्रोजन इनर्जीको प्रयोगतर्फ नेपाल अघि बढिरहेको छ ।’ उनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजबेल्टले टेलिभिजनको पहिलो लाइभ शो उद्घाटन गरेको ऐतिहासिक प्रसङ्ग सम्झिँदै भने, ‘हिजो हामी ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनका लागि रमाइरहेका थियौं, आज हाम्रा विद्र्यीहरू मोटरसाइकल बनाउँछन्, रकेट प्रक्षेपण गर्छन्, चन्द्रमामा पुग्ने सपना देख्छन्, यो नेपालका लागि ठूलो उपलब्धि हो ।’
त्यसैगरी, उनले युवाहरू उद्यमीहरू, अनुसन्धानकर्ता, स्टार्टअप फाउन्डर हुनबाट डराउन नहुने बताए । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ–नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
उनले नयाँ ढङ्गले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास समेत दिलाएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।’
उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दैछन । अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौँ । प्रविधिको रूपान्तरण भइसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् प्रधानमन्त्री ओलीले भने ।
युरो–६ भन्दा तलका गाडी आयात गर्न दिन महासंघ अध्यक्ष चन्द्र ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले युरो–६ भन्दा तलका गाडी आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् । उनले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन आग्रह गरेका हुन् । सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्काल कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ढकालको उक्त आग्रहलाई सोही कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक रूपमा लिएको र यस विषयमा सरकारले विचार गर्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले सरकार अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेको उल्लेख गर्दै सरकाको तर्फबाट लगानी र काम गर्न कुनै बाधा नहुने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा अध्यक्ष ढकालले नाडा अटो शोले नेपालको अर्थतन्त्रमा राम्रो योगदान दिएको चर्चा गर्दै यस्ता मेलाले बजार र ग्राहकलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको उल्लेख गर्दै उनले नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको चर्चा गरे ।
अध्यक्ष ढकालले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसायसम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक बन्दै गएको बताए । ‘पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका सङ्केत देखिएको छ । दुई वर्षअघि भन्दा सवारी साधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको आकलन छ, यसले बजारमा विश्वास बढेको देखाउँछ । यस्तै कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको छ, बैंकको नाफामा पनि वृद्धि भएको छ । यो सकारात्मक कुरा हो,’ अध्यक्ष ढकालले भने ।
महासंघको पहलमा महासंघसहित नेपाल चेम्बर अफ कमर्स र जिल्ला उद्योग संघदेखि गैर आवासीय नेपाली (एनआरएनए) सम्म सबै निजी क्षेत्रसँग सहकार्य गरेर १० अर्ब रूपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक कम्पनी’ स्थापना गरिएको र सो कम्पनीले पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीका अवसर सृजना गर्ने लक्ष्य लिएको जानकारी दिँदै अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको पुँजीसहित सुरू भएको सो कम्पनीले ४० अर्ब रूपैयाँसम्मका ठूला आयोजनामा लगानी गर्न सक्ने धारणा व्यक्त गरे ।
विदेशी लगानी आकर्षणका लागि महासंघले भारत, चीन र दुबईमा व्यावसायिक सम्मेलनहरू गरेको स्मरण गराउँदै उनले नेपालमा लगानीप्रति विदेशी चासो बढ्दै गएको जानकारी दिए । हालै बनेका कानुन र सम्झौताहरू कार्यान्वयन हुँदै गए विदेशी लगानी अझै सहज हुने उनको धारणा थियो ।
उनले पर्यटन, जलविद्युत, एग्रो प्रोसेसिङ, खानीजस्ता सम्भावनायुक्त क्षेत्रमा लगानीलाई प्राथमिकता दिँदै अगाडि बढेको बताउँदै उनले भारतसँग भएको १० हजार मेगावाट विद्युत् निर्यातको सम्झौता र बंगलादेशसँगको सहकार्यले पनि ऊर्जा क्षेत्रको लगानीमैत्री वातावरण सृजना गरेको बताएका छन् ।
नाडा अटो शो’ प्रदर्शनीस्थल मात्र होइन, परिवर्तन र सम्भावनाको थलो पनि हो : करण चौधरी
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले ‘नाडा अटो शो’ प्रदर्शनीस्थल मात्र नभई अटोमोबाइल क्षेत्रको एउटा महत्वपूर्ण व्यावसायिक केन्द्र पनि भएको बताएका छन् । १७औँ संस्करणको नाडा अटो शो उद्घाटन समारोहमा उनले नाडा अटो शोबाट नेपालमा बिक्री हुने करिब ४० प्रतिशत गाडीहरू बुकिङ हुने गरेको भन्दै व्यावसायिक केन्द्र पनि भएको बताएका हुन् ।
अध्यक्ष चौधरीले नाडा अटो शोले मुलुकमा रोजगारी सृजना गर्नाका साथै राजस्वमा समेत ठूलो योगदान पुर्याइरहेको दाबी गरे । ‘निजी क्षेत्र, सरकार र आम उपभोक्ताबीचको सहकार्यलाई मजबुत बनाउँदै देशमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनालाई नाडा अटो शोले थप मजबुत बनाउदै लगेको छ,’ उनले भने ।
त्यसैगरी उनले अहिलेको सन्दर्भमा सडक सुरक्षादेखि सिप विकास र युवाहरूको विदेश पलायन जस्ता चुनौतीहरूलाई सम्बोधन गर्दै त्यसको समाधान देशमै खोजिनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष चौधरीले अहिले देशले युवाशक्ति गुमाउँदै गएको गुनासो बढिरहेको चर्चा गर्दै समस्या औँल्याउनु मात्र होइन, समाधानतर्फ पनि अग्रसर हुनु जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।
उनले हालै श्रम मन्त्रालयअन्तर्गत आयोजित सिप मेलाका लागि नाडाले पनि हस्ताक्षर गरेको उल्लेख गर्दै, युवालाई आवश्यक सिप दिने, रोजगारी सिर्जना गर्ने र त्यो रोजगारी सुनिश्चित गर्ने कुरामा नाडा प्रतिबद्ध रहेको उल्लेख गरे । प्राविधिक तालिमलाई परिवर्तनको आधार मान्नु पर्ने भन्दै उनले भने, ‘यदि हामीले सबै मिलेर यो देशमा प्राविधिक सीपको प्रवर्द्धन गर्न सक्यौँ भने, देशमै केही गरेर देखाउने आशा अझै बाँकी छ ।’
आजको दिनमा युवा पलायन, ब्रेन ड्रेनको विषयमा बहस भइरहेका बेला लाखौँ रोजगारी सिर्जना गरिरहेको उदाहरण प्रस्तुत गर्दै उनले देशमा रोजगारीको अवसर छैन भन्नु नै व्यर्थको तर्क भएको जिकिर गरे । नेपाली नयाँ गाडी सवारी आयात प्रक्रियामा सुधार आउँदै गरेको बताउँदै उनले यातायात विभागसँग निरन्तर समन्वय भइरहेको बताए । उपभोक्ता, व्यवसायी तथा सरकार सबैलाई खुसी पार्ने नीतिहरू आउने विश्वास उनले व्यक्त गरे ।
यस पटकको नाडा अटो शोलाई फरक देखाउने उद्देश्यका साथ फ्लाइङ ट्याक्सी, ह्युमनाइड रोबोट प्रदर्शनीमा राखिएको जानकारी गराए । यस सफलताका लागि एमएडब्ल्यू र दीपल अटोमोबाइल्सलाई उनले धन्यवाद दिए । दक्षिण एसियामै पहिलोपटक ‘फ्लाइङ ट्याक्सी’ ल्याउन सफल भएको दाबी उनको छ ।
अध्यष चौधरीले सरकार र नाडाबीचको सोचमा विशेष भिन्नता नरहेको उल्लेख गरे । वातावरणमैत्री नीति, हाइड्रोपावरको उपयोग, इन्धन आयात घटाउने रणनीतिमा सरकारको सक्रियता रहेको भन्दै उनले सरकारको भूमिकाको प्रशंसा गर्न भ्याए । त्यस्तै, नीतिगत सुधार र इन्फ्रास्ट्रक्चर विकासमा नाडा र नेपाल इन्स्योरेन्स एसोसिएशनबीचको सहकार्यले आगामी दिनमा पूर्वाधारको समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे ।
‘युरो सिक्स’ मापदण्डको कार्यान्वयन सराहनीय भए पनि त्यसलाई लागू गर्न केही समयावधि आवश्यक रहेको जनाउँदै उनले सरकारलाई लचिलोपन देखाउन आग्रह गरे । अध्यक्ष चौधरीले, आफूले नाडाको १० वर्षे कार्यकालमा आर्थिक वर्ष २०८२/८३ को सबैभन्दा राम्रो बजेट भएको उल्लेख गर्दै सरकारी प्रयासहरूको आलोचना मात्र होइन, समर्थन र सहकार्य आवश्यक रहेको भन्दै सकारात्मक दृष्टिकोणको आवश्यता औँल्याए ।
आर्थिक क्षेत्रका आगामी चुनौतीहरूको सामना गर्न आफू तयार रहेको भन्दै उनले बैंकिङ ऋण, व्यापक ऋण व्यवस्थापन र आयस्रोत सन्तुलनका विषयमा सुधार आउने अपेक्षा व्यक्त गरेका छन् । नाडाले सशक्त रूपमा सरकार र जनताको साथमा हिँड्ने प्रतिबद्धता जनाउँदै, नेपालको सफलता विश्वभर फैलाउने लक्ष्य लिएको बताए ।
चौधरीले ‘मेक इन नेपाल’ अभियानअन्तर्गत नाडाले स्थानीय उत्पादनमा जोड दिएको बताए । उनले टायर, लुब्रिकेन्ट्स, साना पार्टपुर्जाहरू नेपालमै उत्पादन गरी प्रदर्शनीमा राखिएको जानकारी गराउँदै, यस्ता पहलहरू भविष्यमा आत्मनिर्भरता निर्माणको प्रमुख आधार हुनेमा विश्वास व्यक्त गरे । त्यसैगरी युवा जनशक्तिलाई एउटै मञ्चमा ल्याई, जिम्मेवारी बोध गराएर राष्ट्र निर्माणमा सक्रिय बनाउनु जरुरी रहेको भन्दै सबैलाई सहकार्यका लागि आह्वान गरेका छन् ।
नाडा अटो शोको यो संस्करण केवल प्रदर्शनी नभई, परिवर्तन र सम्भावनाको थलो भएकोमा उनले पटक–पटक जोड दिए ।
यो पनि पढ्नुहोस्–
अटो व्यवसायीहरूको महत्वपूर्ण ‘चाड’ नाडा आटो शो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)
FACEBOOK COMMENTS