राजन बाबु श्रेष्ठ
उपाध्यक्ष, नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल
नेपालमा ‘नाडा अटो शो’ किन महत्वपूर्ण छ ?
यो नाडा अटो शो नेपालको अटो इन्डष्ट्री र अटो इन्थुसियास्टिकहरूका लागि एउटा ठूलो पर्व हो । यो शोमा हामीले प्रडक्टहरू मात्र होइन अटो क्षेत्रमा ‘फ्युचर टेक्नोलोजी’ देखाउँदैछौँ । जसले गर्दा यहाँहरूलाई धेरै कुरा जान्ने अवसर पनि हुनेछ । ग्लोबल एरेनामा के–कस्ता चिजहरू आउँदैछ, त्यो कस्तो छ, ट्रान्सपोर्टको मोडहरू के–के हुनेछ र भविष्यमा हामी कहाँ पुग्दैछौँ भन्नेलगायतका थुप्रै जानकारीहरू यो शोबाट प्राप्त गर्न सकिनेछ । त्यसमा पनि १७औं संस्करणको यो शोले विशेष महत्व बोकेको छ । यो शोमार्फत हामी नेपालमा ‘एअर मोबिलिटी’को सम्भावना र औचित्यबारे नीतिनिर्माताहरूलाई प्रत्यक्ष जानकारी दिन गइरहेका छौँ । त्यसकारण यो शोमा धेरै भन्दा धेरै दर्शकहरू आएर अवलोकन गरिदिनुहुन म सुरूवातमै अनुरोध गर्न चाहान्छु ।
यो शोको तयारीहरू के–कसरी गरिएका छन् ?
नाडा अटो शो यो पटक अलिक भिन्न रुपमा प्रस्तुत हुन लागिरहेको छ र त्यसैअनुसारको तयारी हामीले गरेका छौँ । नाडा अटो शोको यो १७औँ संस्करण हो । १६औं संस्करणसम्मका नाडा अटो शो गर्दा हामीले धेरै कुरा सिक्दै र सुधार्दै आएका छौँ । ती सबै सिकाइहरूको प्रतिबिम्बका रूपमा हामीले यो ‘नाडा अटो शो, २०८२’ आयोजना गरेका छौँ । यसले हाम्रा ग्राहकहरूलाई नयाँ टेक्नोलोजी र फिचरहरूबारे जानकारी दिने छ । नाडा अटो शो हाम्रो निकै ठूलो पर्व हो, यसमा नयाँ टेक्नोलोजीबारे जानकारी दिनुका साथै व्यापार वृद्धिको खास लक्ष्य पनि राखिएको छ । समग्रमा भन्नुपर्दा यो वर्षको नाडा अटो शो ‘इट विल बी भेरी इन्ट्रेष्टिङ’ ।
भर्खरै नाइमाले मोबिलिटी एक्स्पो सम्पन्न गर्यो । उक्त एक्स्पोमा नयाँ दिने र लिने धेरै काम भइसकेका छन् । करिब हप्तादिन पनि बित्न नपाउँदै नाडा अटो शो सुरू भएको छ । आयोजकको दृष्टिकोणबाट हेर्दा यहाँका एक्जिविटर र भिजिटरमा कस्तो खालको उत्साह पाउनुभएको छ ?
नाडा अटो शो आफैंमा नयाँ उत्साह हो । नेपालको परिवेशमा यो ‘वान अफ द बिगेष्ट’ अटो शो हो । त्यसकारण अटोमोबाइलप्रति चासो राख्नुहुनेहरूमा छुट्टै खालको ‘एक्साइटमेन्ट’ छ । अर्को कुरा आम नेपालीका लागि दसैं र तिहारजस्ता पर्वहरू महत्वपूर्ण छन् । यो पर्वको अवसर पारेर नयाँ सवारी साधन किन्ने प्रवृत्ति छ । त्यसैलाई लक्षित गरेर हामीले विगत १६ वर्षदेखि दसैंकै छेको पारेर नाडा अटो शो आयोजना गर्दै आएका छौँ । यो वर्ष उक्त पर्वहरू केही अगाडि परेका कारण हामीले पनि थोरै अगाडि सारेर शो आयोजना गरेका हौँ । स्वाभाविकरूपमा यसले ग्राहक र प्रदर्शनकर्ताहरूलाई नयाँ ऊर्जा दिनेछ । किनभने नाडा अटो शोमा नेपालमा उपलब्ध र सर्वाधिक रुचाइएका ब्राण्डहरू सबै समेटिएका छन् ।
तपाइँले उल्लेख गर्नुभएको एक्स्पोले नयाँ–नयाँ गाडीहरू ल्याएर ग्राहकलाई देखाएको छ । तर, ग्राहकले अल्टिमेट्ली किन्ने भनेको नेपालमा धेरै रुचाइएको ब्राण्डहरू नै हो । ग्राहकहरूले जुन ब्राण्ड र प्रडक्टहरूले बजारमा डमिनेन्स (प्रभुत्व) जमाइरहेको छ त्यही नै किन्ने हो । त्यसकारण त्यस्ता चलेका र नेपालमा धेरै रुचाइएका ब्राण्डहरू नाडा अटो शोमा प्रदर्शन हुनेछन् । तसर्थ यो अटो शोमा धेरै ग्राहकहरू आउनुहुनेछ, धेरै ग्राहकहरूले रुचाउनुहुनेछ र धेरैले खरिद वा बुकिङ पनि गर्नुहुनेछ भनेर हामीलाई पूरा विश्वास छ ।
मोबिलिटी एक्स्पोमा सहभागी भएका कुन–कुन ब्राण्डहरू नाडा अटो शोमा पनि देख्न पाइन्छ ?
धेरैजसो ब्राण्डहरू नाडा अटो शोमा प्रदर्शित हुनेछन् । तर, ब्राण्डहरूको विषयमा भने अहिल्यै हामी भन्दैनौँ । शो मा आइसकेपछि ग्राहक र यहाँहरू सबैले देख्नु नै हुनेछ । यद्यपि यहाँहरूलाई एउटा कुरा के स्पष्ट पारौँ भने, अहिले नेपाली अटोमोबाइल बजारमा नेतृत्व गरिरहेको अधिकांश ब्राण्डहरू नाडा अटो शोमा देख्न पाउनुहुनेछ । साथै नाडा अटो शोमा टू र फोर ह्वीलर्स तथा प्यासेञ्जर र कमर्सियल भेहिकलहरूबाहेक स्पेयर्स पार्टस, ब्याट्री, लुब्रिकेन्ट, टायरजस्ता कम्पोनेन्टहरूको पनि प्रदर्शनी नाडा अटो शोमा रहने छ । यसैगरी अन्तर्राष्ट्रिय स्टलहरू समेत यो शोमा रहेका छन् । एउटा नेपाली प्याभेलियन, अर्को भिन्टेज कार प्याभिलियन र न्यू टेक्नोलोजी भनौँ या भविष्यमा आउने टेक्नोलोजी त्यसको पनि छुट्टै प्याभिलियन बनाएका छौँ । न्यू टेक्नोलोजीको कुरा गर्दा उड्ने ट्याक्सी र रोबोटिक्सहरूको कुराले गर्दा हाम्रा ग्राहक र सर्वसाधारणहरूमा समेत नाडा अटो शोप्रति ठूलो उत्साह छ ।
लामो समयदेखि समग्र अटोमोबाइल्स व्यवसायीहरूको छाता संस्थाका रूपमा रहेको नाडामाथि ‘सौता’ थपिएको छ– नाइमा । त्यसलाई यहाँहरूले चुनौती कि अवसरका रूपमा लिनुभएको छ ?
सबैभन्दा पहिला त हाम्रोजस्तो डेमोक्र्याटिक कन्ट्रीमा सबैले आफ्नो अनुकुलको संस्था खोल्न पाउने अधिकार सुनिश्चित छ । तपाइँले चासो लिनुभएकै सन्दर्भमा आउने हो भने त्यसले अटो उद्योग र देशका लागि के कति योगदान दिन्छ भन्ने कुरा महत्वपूर्ण छ । मेरो विचारमा संस्थाहरू थपिँदैमा वा बढी हुँदैमा नराम्रो गर्छ भन्ने लाग्दैन । जुन नयाँ संस्था निर्माण भएको छ त्यसको पनि अल्टिमेट्ली उद्देश्य नेपाली अटोमोबाइल्स व्यवसायीहरूको पेशागत हकहित र रक्षाकै लागि लड्ने हो, अटो इन्डष्ट्रीकै लागि लड्ने । जुन नयाँ संस्था आएको छ त्यसले नाडाले गरिरहेको पहलहरूमा मद्दत नै पुर्याउँछ भन्ने लागेको छ । यो राम्रै कुरा हो ।
‘नाडा अटो शो, २०२५’ मा सिप्रदीको उपस्थिति कत्तिको दमदार रहन्छ ?
सिप्रदी एक प्रदर्शनकर्ताको रुपमा नाडा अटो शो २०२५ मा सहभागी हुन्छ । हामीसँग जुन किसिमको ‘प्रडक्ट पोर्टफोलियो’हरू छ त्यसैलाई हामीले डिस्प्ले गर्छौँ । त्यसबाट ग्राहक वर्गमा बढी भन्दा बढी एक्साइटमेन्ट कसरी ल्याउने र हाम्रो प्रडक्टप्रतिको रुची बढाउने भन्नेमै हाम्रो सोच केन्द्रित छ ।
सिप्रदीको स्टल भिजिट गर्नेहरूले हेर्न र देख्न पाउने नयाँ प्रडक्टचाहिँ कुन हो ?
सिप्रदीले नेपालको भूगोललाई सुहाउँदो सवारी साधनहरू आयात गरेर बिक्रीवितरण गरिरहेको विषय सर्वविधितै छ । हाम्रो बाटोघाटोको संरचना, हाम्रो टेरेन्ट र नेपाली ग्राहकको रिक्वायरमेन्टलाई ‘फुलफिल’ गर्ने खालको प्रडक्टहरू हामीले ल्याइरहेका छौँ र भविष्यमा पनि त्यस्तै चिजलाई फोकस गर्नेछौँ । यो संस्करणको नाडा अटो शोमा हामीले तिनै प्रडक्टहरू डिस्प्ले गर्दैछौँ, जुन प्रडक्टप्रति ग्राहकको सधैं नै एक्साइटमेन्ट रहँदै आएको छ । त्यसमा मुख्यगरी टाटाकै प्रडक्टहरू हुने छन् । किनभने हामी करिब ४४ वर्षदेखि टाटाको आधिकारिक बिक्रेताको रुपमा काम गरिरहेका छौँ । यो लामो लिगेसीलाई नै हामीले यहाँ शोकेस गर्ने हो । मलाई लाग्छ, त्यो लिगेसीले हाम्रा ग्राहवकर्गको पक्कै मन जित्ने छ ।
यति लामो लिगेसी बोकेको ब्राण्डको नयाँ प्रडक्ट केही छैन ?
त्यसका लागि यहाँहरू स्टल नै भिटिज गर्नुपर्ने हुन्छ । केही न केही नयाँ पक्कै हुनेछ, तर हाम्रो स्टलमा नआएसम्म थाहा पाउन सक्नुहुन्न । किनभने प्रडक्ट भनेको गाडी मात्रै होइन अरु पनि हुन्छन् । कस्टमरलाई दिने ‘भ्यालु एड’ जति सबैलाई हामीले प्रडक्टका रूपमा हेर्ने गर्छौँ । हामीले भेहिकललाई चाहिने सिस्टमका लागि के नयाँ–नयाँ चिजहरू ल्याउन सक्छौँ, के नयाँ चिज कस्टमरलाई देखाउन सक्छौँ, के चिजले गर्दा कस्टमरको विश्वास जित्न सक्छौँ हाम्रो फोकस त्यसमा छ, ‘नट ओन्ली प्रडक्ट’ ।
सिप्रदी ट्रेडिङ कमर्सियल र प्यासेञ्जर त्यसमा पनि आईसीई र ईभी सबै लाइनअपमा अब्बल छ । यो अटो शोमा भिजिटरले हेर्न, देख्न र किन्न वा बुकिङ गर्न पाउने लाइनअपहरू कुन–कुन हुनेछन् ?
अहिले नेपालमा चलेको ट्रेण्ड अनुसार सिप्रदीले पनि यो शोमा इलेक्ट्रिक भेहिकल (ईभी) मै जोड दिनेछ । किनभने देश नै ईभीमय हुँदै गएको कारण त्यसबाट हामी भिन्न हुनसक्ने स्थिति अहिले छैन ।
नाइमाको एक्स्पोमा एक्जिविटरहरूले मूल्यमा ‘हाइ डिस्काउन्ट’ दिएर ग्राहकहरूको ध्यान खिचेको पाइयो । नाडा अटो शोमा केले ध्यान खिच्दैछ ?
व्यापारमा सबैको आ–आफ्नै रणनीतिहरू हुन्छन् । त्यसैले मैले यो चेयर (नाडाको उपाध्यक्ष) बाट धेरै केही भनिरहन सान्दर्भिक नहोला । तर, सिप्रदियन भएर हेर्दा पछिल्लो एक्स्पोमा जुन खालको अभ्यास भयो त्यसले ठिक गरेको छैन कि भन्ने लागेको छ । यदि कुनै कस्टमरले कुनै गाडी किन्नुहुन्छ भने त्यो गाडी तनावरहित ढङ्गबाट चलाउन सक्ने वातावरण बनाउनुपर्छ, त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो । मैले कुनै प्रडक्ट खरिद गर्दैछु भने त्यसलाई चाहिने इकोसिस्टम उपलब्ध छ कि छैन, त्यो प्रडक्ट चढ्दाखेरिको ‘एक्सपिरियन्स’ ‘वाउ फिलिङ’ हुन्छ कि हुँदैन अर्थात् गाडीको इन्टायर लाइफसाइकलमा कुनै पनि तनाव नहोस् त्यो चिजलाई हामीले ‘एज अ डिलर’ सधैं केन्द्रित गर्नुपर्छ ।
त्यसकारण सिप्रदी कहिल्यै पनि ‘प्राइस वार’मा विश्वास गर्दैन । सिप्रदी र टाटाप्रति रहँदै आएको हाम्रा ग्राहकको विश्वासलाई लामो समयसम्म कसरी जोगाउन सक्छौँ वा अझ उचाइमा कसरी पुर्याउन सक्छौँ भन्ने कुरामा जोड दिँदै आएका छौँ । जसले गर्दा सिप्रदीसँग कुनै प्रडक्ट किनेको छ भने त्यो प्रडक्टले कुनै पनि समस्या नदेओस्, त्यसले कुनै पनि तनाव नदेओस् भन्ने कुराको जिम्मा सिप्रदी र टाटाले लिनुपर्दछ । त्यो वातावरण हामीले बनाउने हो । त्यसैले गर्दा प्राइस वारमा कहिल्यै पनि हाम्रो फोकस छैन ।
त्यसो भए यो अटो शोमा सिप्रदीले बिक्रीलाई प्राथमिकता दिन्छ कि ब्राण्ड प्रवर्द्धनलाई ?
विगतदेखिको नाडा अटो शोको फोकस बिक्रीमा रहँदै आएको छ । किनभने विगतदेखिको ट्रेण्ड हेर्दाखेरि कूल बिक्रीको ३५ देखि ४० प्रतिशत यही दुई/तीन महिनाको अन्तरालमा हुने गरेको छ । त्यसैले गर्दा सिप्रदीको मात्रै होइन सबैको जोड दिने भनेको बिक्रीमै हो । त्यस आधारमा हामी पनि ‘डेफिनेट्ली सेल्स मेक्सिमाइज’ गर्नमै फोकस हुनेछौँ । हामीसँग भएका प्रडक्टको ब्राण्ड हामीले कस्टमरहरूको मन जितेर स्थापित गरिसकेका छौँ ।
पछिल्लो समय नेपालमा इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) गाडीहरूको बिक्री पनि पुन: बढ्दो क्रममा रहेको तथ्याङ्कहरू आइरहेका छन् । यसबाट सिप्रदी कत्तिको उत्साहित भएको छ ?
नेपालमा आईसीई र ईभीको आ–आफ्नै किसिमको मार्केट, कस्टमर र एप्लिकेशन छन् । यी दुईवटै लाइनअपलाई सँगसँगै लिएर जानसक्दा सबैभन्दा राम्रो त्यही हो । तर, अहिले देशमा सबैको फोकस ईभीमा छ भने ईभीको पेनिट्रेसन पनि केही बढेको होला । गत आर्थिक वर्षको केही तथ्याङ्कले आईसीईमा पनि राम्रो ‘एट्र्याक्सन’ आएको छ । यद्यपि, सिप्रदीले आईसीई र ईभी दुबैलाई बराबरका रूपमा जोड दिइरहेको छ । सरकारले लिएको ईभी फ्रेण्ड्ली नीतिका कारण ईभीमा राम्रो रिजल्ट आइरहेको छ । यो जतिजा मुलुकका लागि सकारात्मक हो ।
तपाइँहरूसँग सबै खालका लाइनहपहरू उपलब्ध छन् । त्यसकारण सबै लाइनअपको अनुभव पनि पर्याप्त छ । ती अनुभवका आधारमा अब सिप्रदीले अपनाउने भविष्यको बाटो ईभी हो कि आईसीई ?
यो वा त्यो भन्दा पनि हाम्रा ग्राहकले के खोज्नुहुन्छ हामी त्यतै जाने हो । ग्राहकको ‘बेष्ट एक्सपिरियन्स वीथ आवर प्रडक्ट्स’ र सिप्रदीसँगको एक्सपिरियन्स यी दुई चिजलाई हामी सधैं प्राथमिकतामा राखेर काम गर्छौँ । त्यही अनुसार बढी भन्दा बढी ‘डेलिभर’ ग्राहकलाई गर्न खोजिहरेका हुन्छौँ ।
यो पनि–
सम्पादकीय : नेपालको अटोमोबाइल क्षेत्रमा नाडा अटो शो, २०८२ ले ल्यायो नयाँ आयाम
FACEBOOK COMMENTS