काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर कर नीति लागु गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको भृकुटी मण्डपमा आयोजित ‘नाडा अटो शो’ २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले पटक–पटक उठाउँदै आएको कर नीतिमा स्थिरताको माग अब व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताएका हुन्।
अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई सरकारको राजस्व संकलन गर्ने माध्यमका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।
उनले भने, अटोमोबाइल क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बिमा, यातायात तथा रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको भएकाले यसको विस्तारले समग्र अर्थतन्त्रमा प्रभाव पार्छ।
‘सरकारले आगामी दिनमा कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ, त्यसलाई व्यवहारमा उतार्न सके नेपालको व्यावसायिक वातावरण अझ विश्वसनीय बन्नेछ,’ अध्यक्ष उप्रेतीले भने।

उनले नेपालमा सवारीसाधनलाई अझै पनि विलासिताका वस्तुका रूपमा हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको पनि बताएका छन् ।
पछिल्लो समय सवारीसाधन नागरिकको आवागमनको साधन मात्र नभई व्यवसाय सञ्चालन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिको महत्वपूर्ण आधार बनिसकेको उनको भनाइ छ।
त्यसैले सवारीसाधनसम्बन्धी कर नीति उपभोक्ता र व्यवसाय दुवैलाई ध्यानमा राखेर व्यावहारिक बनाउनुपर्ने उनले बताए।
उप्रेतीले नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान महत्वपूर्ण रहेको दाबी गरेका छन् ।
अटोमोबाइल उद्योगमा ठूलो लगानी रहेको र यस क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी व्यक्ति रोजगारीमा जोडिएका अध्यक्ष उप्रेतीले बताए ।
त्यस्तै, राज्यको कुल राजस्वमा अटोमोबाइल क्षेत्रले वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान गर्दै आएको उनले उल्लेख गरेअका छन् ।
अध्यक्ष उप्रेतीले विद्युतीय सवारीसाधन (ईभी)को बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ औद्योगिक अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।
उनले नेपालको अटोमोबाइल क्षेत्रलाई आयातमा आधारित व्यापारबाट क्रमश: उत्पादन र औद्योगिकीकरणतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए। स्थिर कर नीति, लगानीको सुरक्षा र दीर्घकालीन सरकारी प्रतिबद्धता भए नेपालमा एसेम्बलिङसँगै कम्पोनेन्ट उत्पादनको सम्भावना विस्तार गर्न सकिने उनको धारणा छ।