नेपालमा विकासको पहिलो प्राथमिकतामा यातायात पर्न थालेको लामो समय भयो । यातायात बिनाविकास हुन सक्दैन भन्ने सोच समेत सर्वसाधारणमा भएको पाइन्छ । यातायात विकासको परिपूरक हुँदै जाँदा यातायातका साधनहरूमा सर्वसधारणको पहुँच समेत निकै बढेको छ । जसले गर्दा यातायातबिनाको जीवन कल्पनासमेत गर्न नसकिने अवस्थामा पुगेको छ ।
नेपालको सन्दर्भमा गाडीसँगको हाम्रो सम्बन्ध त्यति लामो छैन । राणा प्रधानमन्त्री वीरशमशेरको पालामा गेहेन्द्रशमशेरले काठमाडौंमा पहिलोपटक गाडी भित्र्याएका थिए । त्यो गाडी मकवानपुरको भीमफेदीबाट मानिसले बोकेर काठमाडौं ल्याएका थिए । टोनी हेगन स्वीट्जरल्यान्डको सुविधासम्पन्न ठाउँमा आफ्नो अध्ययन सकेर भूगर्भशास्त्रीका रूपमा पहिलोपटक नेपाल आउँदा भारतको कलकत्ताबाट अमलेखगञ्ज हुँदै नेपाल भित्रिएको कुरा नेपालको चिनारी नामक पुस्तकमा उल्लेख छ ।
सन् १९५० मा उनी पहिलोपटक काठमाडौं आउँदा अमलेखगञ्जदेखि हेटाँैडा हुँदै भीमफेदीसम्म मोटरबाटो भएको लेख्छन् । हेगनले आफ्नो यात्रा अनुभवमा काठमाडौंको थानकोटबाट यता लागेपछि कच्ची बाटोमा मोटर चल्ने गरेको कुरा उल्लेख गरेका छन् । राणाशासनका बेला विकास भएको नेपालको यातायात प्रणाली सर्वसाधारणको पहँुचमा थिएन । राजकीय प्रमुखका हैसियतले पहिलोपटक राणा प्रधानमन्त्री जंगबहादुर राणालाई बेलायत भ्रमणको अवसर मिलेको थियो । राणाको बेलायत भ्रमण आधुनिक नेपालका लागि केही हदसमम फाइदाजनक नै थियो । त्यसपछि विकसित देशहरूसँग नेपालको सम्बन्ध विकास हुँदै गयो । ती देशहरूमा भएका विलासिताका सामाहरू नेपालसम्म पनि सजिलै आउन थाले । त्यसको उदाहरण गाडी पनि एक हो ।
गेहेन्द्र शमशेरले मेसिनगन बनाइसकेपछि आफ्नो माहिला भाइ धर्म शमशेर र काहिँला भाइ रुद्र शमशेरबाहेक अरू कसैलाई पनि जानकारी नगराई बेलायतबाट फोर्ड कम्पनीका मोटरकार झिकाई काठमाडौंमा ल्याएका थिए । उक्त मोटरकारलाई गेहन्द्र शमशेरले जमलस्थित ज्यासल (कारखाना)मा लगी ठाउँ–ठाउँमा चाँदीको मोडी टल्काई साथै गन्धकबाट उत्पन्न हुने ग्यासको बत्तीसमेत जडान गराई राम्रो ढङ्गले सजाएर अकर्षक बनाए ।
ईन्द्र जात्राको दिन दशनारायण नामक आफ्नो कालीगढलाई सो मोटरकार हाँक्न लगाई भाइ धर्म शमशेर र भाइ रुद्र शमशेरहरू समेतलाई मोटरकारमा चढाई गेहेन्द्र शमशेर आफ्नो बुबाज्यू श्री ३ को वीर शमशेरलाई देखाउन सेतो दरबारतर्फ गए । सेतो दरबार क्षेत्रमा बग्गीको साटो मोटरकार देखी श्री ३ वीरले, ‘के हो यो ?’ भनी प्रश्न गरे ।
गेहेन्द्र शमशेरले यो बेलायतको फोर्ड कम्पनीले बनाएको मोटरकार हो । बेलायतबाट भर्खरै आएको हुँदा बुबाज्यूमा नजर गराउन ल्याएका छौँ भने । मोटर देखेर श्री ३ वीर शमशेर दंग परे र छोरा गहेन्द्र शमशेरसँग अत्यन्तै खुसी भए । तत्कालीन श्री ५ पृथ्वी वीरविक्रम शाहलाई सो मोटर देखाउनका निमित्त श्री ३ वीर शमशेर छोराहरूका साथ सो मोटरमा बसी नारायणहिटी राजदरबारतर्फ लागे । श्री ५ पृथ्वीलाई सो मोटार चढाई राजदरबारको पटाङ्गिनीभित्रै घुमाए । घुमिसक्नासाथ श्री ५ पृथ्वीले श्री ३ वीर शमशेरसँग मामा यो मोटर मलाई दिनू भनी माग गरे ।
छोराले झिकाएको मोटर श्री ५ पृथ्वीले यसप्रकार माग गर्दा श्री ३ वीर शमशेर एकछिन अलमलिए र छोरा गेहेन्द्र शमशेरको मुख पुलुक्क हेरे । छोरा गेहेन्द्रले पनि आफ्ना बुवा श्री ३ वीर शमशेरलाई आँखाकै इसाराले मोटर श्री ५ पृथ्वी वीर विक्रमलाई बक्सियोस् भने । श्री ३ वीर शमशेरले ‘सरकारलाई नै चढाउन भनी जेठा (गेहेन्द्र)ले बेलायतबाट यो मोटर झिकाएको हो’ भन्दै श्री ५ पृथ्वी वीरविक्रम शाहलाई दिएको इतिहासमा उल्लेख छ ।
वीर शमशेरको पालामा नेपालमा यातायातको सुरूआत भएको पाइन्छ । नेपालमा गाडी भित्रँदा राजमार्गको विकास भएको थिएन । काठमाडौंमा कच्ची सडक थिए । कच्ची सकडकमा धूलो उडाउँदै गाडी दौडेको देख्दा सडकको छेउमा बसेर मात्र होइन गाडीको धूवाँ सँुघ्दै पछाडि दौडिँदाको घटना सुनेको बताउने पुस्ताको पनि कमी छैन ।
अटोमोबाइलमा युवाहरूकै वर्चस्व, को–को हुन् नाडाका युवा हस्तीहरू ?
विक्रम सम्वत् १९९० मा काठमाडौंमा ठूलो भूकम्प गयो । भूकम्पबाट थुप्रै धनजनको क्षति भयो । त्यसपछि नेपालमा दमकल ल्याइयो । त्यो दमकल पनि मानिसले बोकेरै काठमाडौं ल्याएका थिए । यसरी काठमाडौंलाई तराईसम्म जोड्ने त्रिभुवन राजपथ नबन्दासम्म भित्रिएका सबै गाडीले चिसापानी चन्द्रागिरी भन्ज्याङ हुँदै भीमफेदीबाट मानिसको बुई चढेका थिए । सडक यातायातको विस्तार हुन थालेपछि नेपालमा गाडीको सङ्ख्यामा वृद्धि भयो । २००७ सालको परिवर्तनपछि सर्वसाधारणले समेत गाडी चढ्ने अवसर पाउन थाले ।
सडक यातायतको विस्तार सन् १९५१ मा नेपाल बाह्य विश्वको सम्पर्कमा आएपछि देशको उत्तर र दक्षिण सीमानासम्म वस्तु विनिमय गर्न जाने चलनमा परिवर्तन आयो त्यतिबेला भारतको रेल स्टेसनदेखि तराईका केही बजारसम्म सडक पुगिसकेको थियो । काठमाडौंलगायत मुलुकको मध्यपहाडी भागमा सडक बनेको थिएन । सन् १९५६ मा त्रिभुवन राजपथ बनेपछि काठमाडौंमा यातायात चल्न थाल्यो त्यसअघि काठमाडौंमा एक सयजति मात्र मोटर गुड्थे ।
सन् १९५१ मा ३६७ किलोमिटर मात्र लम्बाइ भएको नेपालको सडक अहिले निकै विस्तार भएको छ । सन् १९५० मा आएको स्वीस मिसनले भीमफेदीदेखि कुलेखानी र फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक बनाउन सिफारिस गरेको थियो । कुलेखानीमा जलविद्युत्का लागि सुरूङ खन्दा कुलेखानीदेखि फर्पिङ भएर काठमाडौं जोड्न ३५ किलोमिटर मात्र सडक बनाए पुग्थ्यो । भैँसेमैले दोभानदेखि काठमाडौंसम्मको सडक र २ हजार ५६० किलोमिटर क्षमताको विद्युत् आयोजनाका लागि समेत सन् १९५१ मा ५० लाख अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको थियो ।
सन् १९५२ मा भारतीय सेनाले भैँसेमैले दोभानबाट नयाँ भन्ज्याङ र २ हजार ५४० मिटर, टिस्टुङ देउराखली भन्ज्याङ १ हजार ९८० मिटर हुँदै थानकोट भन्ज्याङ १ हजार ५०० मिटरको बाटोबाट काठमाडौं आउने सडक बनाउन सुरू ग¥यो धेरै घुम्तीहरू भएको हुनाले भैँसे दोभानदेखि काठमाडौंसम्म बाटोको लम्बाई १३८ किलोमिटर भयो । यसको अलावामा प्रस्तावित कुलेखानीबाट फर्पिङ हुँदै काठमाडौं आउने सडक ४० किलोमिटर थियो ।
सन् १९७० को दशकमा चीनले काठमाडौंबाट मुग्लिङ र त्यहाँबाट नारायणघाट जाने बाटो नबनाउँदासम्म काठमाडौंलाई मधेशसँग जोड्ने यही एक मात्र राजमार्ग थियो । काठमाडौंलाई तिब्बतको सीमानामा पर्ने कोदारीसित जोड्ने १०४ किलोमिटर सडकको निर्माण चीन सरकारले सन् १९६३ मा सुरू गरेर पाँच वर्षमा सम्पन्न गरेको थियो । यस सडकबाट धुलिखेल र बनेपा सहर काठमाडौंसँग जोडिएका छन् । अरू ठाउँलाई यस सडकबाट खासै आर्थिक रूपले त्यति फाइदाजनक नभए पनि यस सडकबाट चौतारा र जिरीसम्म जाने शाखा मार्गहरू बनेका छन् ।
काठमाडौं–त्रिशूली सडक भारतीय सहायतामा सन् १९५६ मा बनाउन सुरू भएर सन् १९६२ मा सम्पन्न गरिएको हो । यसले त्रिशूली बजारको उत्तरमा रहेको जलविद्युत् गृहसँग काठमाडौंलाई जोड्छ । ७३ किलोमिटर लामो यो सडक बनाउन १२ लाख अमेरिकी डलर खर्च भएको थियो । बुटवल र पोखरा जोड्ने सिद्धार्थ राजमार्ग पनि भारतीय सहायताबाट बनाइएको हो सन् १९६८ मा जिप चल्न थालेको यो सडकमा कालोपत्र लगाउने काम सन् १९७० मा सम्पन्न भएको थियो ।
चीन सरकारको सहयोगबाट १ करोड ४० लाख डलरको लागतमा बनेको काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्गको निर्माण कार्य सन् १९७४ मा सम्पन्न भएको थियो । स्वीस सरकारले स्न १९७४ मा लामोसाँघु–जिरी सडक निर्माणका लागि १ करोड ५० लाख स्वीस फ््य्राङक ऋण प्रदान गरेको थियो । अरनिको राजमार्गमा पर्ने लामासाँघुबाट सुरू भएको यो सडक स्वीट्जरल्यान्डकै सहयोगमा सञ्चालित एकीकृत पहाडी विकास आयोजनास्थल हुँदै जान्छ । यो सडक १०६ किलोमिटर लामो छ ।
सबैभन्दा महत्वको राजमार्ग पूर्व–पश्चिम राजमार्ग अथवा महेन्द्र राजमार्ग हो । नेपालको दक्षिणी भागलाई छिचोल्दै पूर्वबाट पश्चिम गएको यो सडकको लम्बाइ १ हजार ३४ किलोमिटर छ । यो बाटो बन्नुअघि नेपालको तराई एक ठाउँबाट अर्को ठाउँमा गाडीमा जानुपर्दा भारत भएर जानुपथ्र्यो महेन्द्र राजमार्ग बनेपछि त्यो समस्या हटेर गयो । लामो समय लागेर बनेको यो सडक बनाउन सोभियत संघ बेलायत संयुक्तराज्य अमेरिका र भारतलगायतका देशहरूले सहयोग गरेको थिए । महत्वपूर्ण राजमार्गहरूमा चीन सरकारले सन् १९८२ मा बनाइदिएको ६१ किलोमिटर लामो गोरखा– नारायणघाट सडक, सन् १९९४ मा चीनले नै बनाइएको ७३ किलोमिटर लामो पोखरा–बागलुङ र बेलायतले सन् १९८४ मा बनाएको ५० किलोमिटर लामो धरान–धनकुटा सडक पर्छन् ।
यसका साथै पछिल्लो समयमा सरकारले स्थानीय निकायलाई वार्षिक रूपमा दिएको पैसाले समेत प्रशस्त कच्ची सडहकहरू बनेका छन् । गाउँगाउँमा गाडी पु¥याउनका लागि यी सडकहरूले सक्दो मद्दत गरेका छन् । जसले गर्दा पछिल्लो समयमा सडक यातायातको विकासकमा थप टेवासमेत पुगेको छ । स्थानीय निकायले बनाएका कतिपय सडकहरूको आयु भने त्यति लामो समय नभएको पाइन्छ । सडकको गुणस्तरभन्दा परिमाणमा भएको वृद्धिले गर्दा पनि यस्तो भएको हो ।
राजधानीमा साझा यातायातका बस २०३८ सालबाट चल्न थालेको हुन् । त्यो भन्दा पहिला जापान अमेरिका र बेलायततिर बनेको महङ्गा गाडीले नेपालमा मानिस बोक्ने गर्दथे यस्तो गाडी निश्चित क्षेत्रमा मात्र सञ्चालित थिए । साझा आउन भन्दा पहिलो ट्रलीबसले केही आशा लाग्दो सेवा दिँदै आएको थियो । अहिले यी ट्रली सेवा बन्द भइसकेको छ । पछिल्लो समयमा सार्वजनिक यातायात सेवामा निजी क्षेत्रको मात्र सहभागिता रहेको छ । फोर्डको गाडीबाट सुरू भऐको इतिहास अहिले अटोमोबाइल क्षेत्र स्वचालित सवारी साधनसम्म पुगिसकेको छ । बीवाईडी, टेस्ला, दिपाल, अवतार, नेटा–भीलगायत स्वचालिन विद्युतीय कारहरू नेपालमा भित्रिसकेका छन् ।
नाडाका अध्यक्ष करण चौधरी भन्छन्– नाडा अटो शो, २०२४ ‘नेक्स्ट लेभल’को हुँदैछ (भिडिओ)
FACEBOOK COMMENTS