काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरी आर्थिक राहत उपलब्ध गराउन आग्रह गरेको छ ।
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको सात सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी शुभकामना दिँदै सो आग्रह गरेको हो ।
सो अवसरमा सरकारले आम जनताको स्वास्थ्य सुरक्षाका लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोबाइल्स क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशील अवस्थामा पुर्याउन सरकारबाट विशेष पहल गरिदिन प्रतिनिधि मण्डलले आग्रह गरेको छ ।
सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति र सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे ।
छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जिप, कार भ्यान र मोटरसाइकलमा युरो तथा बीएस६ लागू गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रह समेत गरेका छन् ।
सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंघानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS