काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय बिताउन नभई गर्नुपर्ने कामबारे सुझाव दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् ।
आज राजधानीको भृकुटीमण्डमा आयोजित १६औं संस्करणको नाडा अटो शोमा बोल्दै उनले कार्यक्रममा बोलाइएपछि नगए मर्यादा र आदर नभएजस्तो हुने तर समय भने भाषण गर्न र सुन्नमै बित्ने बताए ।
औपचारिक कार्यक्रममा बोलाई समय खेर फाल्नुभन्दा आफूहरूले गर्नुपर्ने कामबारे सुझाव दिन उपयुक्त हुने अर्थमन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित गर्न निजी क्षेत्रहरूलाई आग्रह गरे ।
पौडेलले देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।
‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुँदो रहेछ । काम गर्ने कि भाषण गर्ने ? म यहाँहरूसँग के राख्न चाहन्छु भने मन्त्रीज्यूहरूलाई भाषण होइन काम गर भनेर यहाँहरू सबैले प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘तर कस्तो हुन्छ भने निजी क्षेत्रका संगठनहरू छन्, यहाँहरू महत्त्वका साथ बोलाउनुहुन्छ । नआऊँ यथोचित मर्यादा, आदर भएन भन्ने लाग्छ, आऊँ समय भाषण सुन्न र गर्नमै व्यतीत हुन्छ । त्यसैले विशेष गरी छाता संगठनका साथीहरू हुनुहुन्छ, अर्थमन्त्रीले सुन्नै पर्ने, बुझ्नै पर्ने, गर्नै पर्ने कामका लागि सुझाव दिन अरू कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरू समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनुभन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’
उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने पनि बताए । नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने उनको भनाइ थियो ।
अर्थतन्त्रका सबै सूत्रहरूमा यथेष्ट अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS