निराकार श्रेष्ठ
कार्यकारी निर्देशक लक्ष्मी ग्रुप
उपाध्यक्ष नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल
प्रतिष्ठित व्यावसायिक समूह ‘लक्ष्मी ग्रुप’भित्र रहेका उद्योग व्यवसायहरूका बारेमा बताइदिनुहोस् न ?
लक्ष्मी ग्रुपको स्थापना वि.स. २०३३ सालमा भएको हो । आज हामीसँग विभिन्न क्षेत्र समेटिएको विभिन्न उद्योग र व्यवसायहरू छन् । हामीले सुरूवाती चरणमा कन्फेक्सनरी, चकलेट र बिस्कुटहरूबाट सुरू भएको हो । त्यसपछि प्याकेजिङ मटेलियल्सहरू, डेरी र फलामे डण्डीहरू हुँदै अहिले यहाँसम्म आएका छौँ । त्यस्तै, व्यवसायतर्फ हुण्डाई अटोमोबाइल, इलेक्ट्रोनिक्समा वरपुल बस र इलेक्ट्रिक सामान आयात गर्छौँ । कमर्सियल गाडीमा एसएमएल इसुजु र लक्जरी सेगमेन्टमा बीएमडब्ल्यूका गाडीहरू आयात गरेर बिक्रीवितरण गर्दै आएका छौँ । नेपालको अटोमोबाइल क्षेत्रलाई केवल आयातमुखीमात्र होइन उत्पादनतर्फ पनि लैजानुपर्छ भनेर यसै वर्षबाट हामीले हुन्डाइका गाडीहरू नेपालमै एसेम्बल गर्ने प्लान्ट स्थापना गरेर उत्पादन समेत सुरू गरिसकेका छौँ ।
यसै पनि केही वर्षयता मुलुकको आर्थिक अवस्था सिथिल बनेको छ, अर्कोतर्फ इलेक्ट्रिक भेहिकल (ईभी) ले आईसीई इन्जिन भएका गाडीको बिक्री ठप्प पारेको छ । यस्तो अवस्थामा एसेम्बलिङ प्लान्ट सञ्चालनमा ल्याउनुभएको छ । चल्न त चलिरहेको छ नि ?
यो एसेम्बलिङ प्लान्ट स्थापना गर्ने हाम्रो परिकल्पना करिब १० वर्षअघिकै हो । यसलाई अघि बढाउनका लागि सन् २०१९ मा उद्योग दर्ता गरेर काम अघि बढाएका थियौँ । तर, कोभिड–१९ को महामारीले गर्दा दुई वर्षजति कुनै पनि काम हुन पाएन र स्थगितकै रूपमा रह्यो । त्यसपछि सन् २०२२ को आसपासमा आएर हामीले यसलाई अघि बढाउन पायौँ र फाइनल्ली गत वैशाखमा उत्पादनको उद्घाटन गर्न सक्यौँ ।
जतिबेला हामीले उत्पादन सुरू ग¥यौँ त्यो समयमा आइपुग्दा नेपालमा आईसीई र ईभीको ‘सेल्स कम्पोजिसन’ मा धेरै नै परिवर्तन आइसकेको छ । तर, ईभीको बिक्रीमा भइरहेको ग्रोथले अहिले नै आईसीई भेहिकललाई प्रतिस्थापन नै गर्नसक्ने अवस्था भने छैन । हाल भइरहेको ईभीको ग्रोथ निश्चित विन्दूमा पुगेर ‘सेटल’ हुन्छ । त्यसबेला आईसीईले पनि छुट्टै ठाउँ पाउने हामीले देखिरहेका छौँ ।
त्यसकारण हामीले हाम्रा प्रडक्टहरू त्यो सेगमेन्टमा अझै दरिलो बनाउँदै जानेछौँ । अहिले हामीसँग एउटामात्रै मोडल ‘भेन्यु’ उत्पादन छ । आगामी वर्षसम्ममा तीनवटा मोडल नेपालमै उत्पादन गर्छौँ । त्यसले आईसीई उत्पादनमा हाम्रो पकड बढ्दै जाने विश्वास लिएका छौँ । साथै, आगामी वर्ष हुण्डाईकै इलेक्ट्रिक भेहिकलहरू पनि नेपालमै उत्पादन गर्दैछौँ । आईसीई र ईभी दुईवटैलाई एसाथ अगाडि बढाउने लक्ष्यका साथै नै हामीले यो उद्योग स्थापना गरेका हौँ ।
हुण्डाइले नेपालमै ईभी उत्पादन गर्दासम्म त बजारको प्रतिस्पर्धाबाट निकै पछि पर्नुहोला नि ? त्यसअघि कुनै ईभी अपनाउने योजना छ कि ?
नेपालमा इलेक्ट्रिक भेहिकलको लामो इतिहासतिर नजाने हो भने सन् २०१२/०१३ तिर ‘रेवा’ नामको गाडी आउँथ्यो । पछि सो कम्पनीलाई महिन्द्राले टेकओभर गर्यो । त्यसपछि सन् २०१५/०१६ मा नेपालमा नाकाबन्दी भइ तेलको हाहाकार हुँदा सरकारले नै विद्युतीय गाडीको प्रोत्साहन गर्ने नीति लिँदै भन्सारको दरमा सहुलियत दिने घोषणा गरेको थियो । फलस्वरूप ईभीका केही अरु ब्राण्डहरू पनि नेपाल भित्रिन सफल भए । अहिले ईभीले नेपालमा पाएको ‘लार्ज स्केल’को बजार वृद्धिमा हुण्डाइको पनि महत्वपूर्ण योगदान छ । किनकी सन् २०१८/०१९ मा हुण्डाइले ‘हुण्डाइ कोना’ ईभी नेपाल ल्याएको थियो ।
तर, सन् २०२२/०२३ मा चीनबाट सस्तो मूल्यका ईभी कारहरू आउन थालेपछि त्यो सेगमेन्टसँग प्रतिस्पर्धा गर्न मूल्यका कारण कोनाले सकेन । तर, आगामी तीन वर्षभित्र अर्थात् सन् २०२७ को अन्त्यसम्ममा हुण्डाइले ६/७ वटा नयाँ ईभी मोडलहरू ल्याउने तयारी गरेको छ । त्यसमध्ये सबै मोडल नेपालका लागि उपयुक्त नहुन पनि सक्छ । तर, त्यसमध्ये कम्तीमा ३÷४ वटा मोडल अवश्य पनि नेपालका लागि उपयुक्त हुने हामीले देखेका छौँ । त्यसमध्येको एउटा क्रेटा हो, जुन अहिले नेपालमा सबैभन्दा राम्रो कम्प्याक्ट एसयूभीका रूपमा चर्चित छ । सोही क्रेटा आगामी ६ महिना अर्थात् सन् २०२५ को जनवरीसम्ममा इलेक्ट्रिक मोडलमा आउँदै छ ।
स्वदेशमै गाडी उत्पादन गर्न थाल्नुभएको छ, अब उपभोक्ताले के फाइदा पाउँछन् ?
हामीले नेपालमा एसेम्बर भएका गाडीलाई ‘मेड इन नेपाल’ प्रडक्ट भनेका छौँ । यसअघि स्थापना भएका एसेम्बलिङ उद्योगहरूले प्रडक्टको मूल्य घटाएनन् भनेर बजारमा आएको गुनासो सम्बोधन गर्न हामीले करिब १० प्रतिशत मूल्य समायोजन गरेका छौँ । यो निकै क्रान्तिकारी समायोजन हो । हामीलाई पनि केही समस्या छ । जस्तोः नेपालमा उत्पादित गाडी बिक्री गर्दा अन्तःशुल्क लिइन्छ, जुन तयारी आयातित गाडीमा लिने गरिएको छैन । यसकारण ग्राहकको चाहनाबमोजिम मूल्य समायोजन गर्न सकिरहेका छैनौँ । यो विषयमा हामीले सरकारलाई भनिरहेका छौँ, एकदिन पक्कै सुनुवाइ हुनेछ र थप मूल्य समायोजनको स्थितिमा हामी पुग्नेछौँ भन्ने विश्वास छ ।
एसेम्बलिङ उद्योगलाई सरकारले सबसिडी दिएको छ, बिक्रीमा लाग्ने अन्तःशुल्कलाई देखाएर उचित मूल्य समायोजन नगर्नु उपभोक्तामाथि अन्याय होइन र ?
नेपालमा एसेम्बल गरेर बिक्री गरिने सवारी साधनको आयात र बिक्री दुवैमा अन्तःशुल्क लाग्छ । तर, एसेम्बलका लागि चाहिने सामान आयात गर्दा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट दिइएको हो, पूरै होइन । आयात गर्दा ५० प्रतिशत छुट दिइए पनि बिक्री गर्दा फेरि भ्यालु एडिएसनमा ५० प्रतिशत नै अन्तःशुल्क लाग्छ । तयारी आयातित गाडीमा त्यो अन्तःशुल्क छैन, १३ प्रतिशत भ्याट मात्रै तिरेर बेच्दा हुन्छ । पार्टस ल्यायो, एसेम्बल र उत्पादन गर्यो, त्यसमा आफ्नो लागत खर्च जोडेपछि ३२.५ प्रतिशत अन्तःशुल्क जोडिन्छ । त्यसमा १३ प्रतिशत भ्याट समेत जोडेपछि मात्रै मूल्य निर्धारण हुने हुँदा नेपालमै एसेम्बल हुने सवारी साधनले उपभोक्ताको अपेक्षित मूल्य आउन नसकेको हो । यद्यपि, हामीले जुन मूल्य निर्धारण गरेका छौँ त्यो धेरै नै सस्तो मूल्य हो ।
अहिलेसम्म कुन कुन मोडलका कति कति युनिट काडी उत्पादन गर्नुभयो र बजारको प्रतिक्रिया कस्तो पाउँदै हुनुहुन्छ ?
हाम्रो उद्योगको कुल उत्पादन क्षमता वार्षिक पाँच हजार युनिट हो । अहिले एउटा मोडल ‘भेन्यु’ मात्रै उत्पादन भइरहेको छ । त्यसकारण उद्योगको कुल क्षमतामध्ये अहिले १५–२० प्रतिशतसम्म मात्रै चलिरहेको छ । हालसम्म २०० युनिट गाडी उत्पादन गरेर बजारमा पठाइसकेका छौँ । अरु मोडल पनि थप्दै गएपछि आगामी एक वर्षभित्र ७० प्रतिशत क्षमतामा उद्योग चलाउने लक्ष्य छ ।
भदौ ११–१६ सम्म चल्ने नाडा अटो शोप्रति स्वदेशमै एसेम्बल प्लान्ट चलाउनुभएका तपाइँहरू कत्तिको उत्साहित हुनुहुन्छ ?
नाडा अटो शो अटोमोबाइल इन्डष्ट्रीका लागि ‘मेजर इभेन्ट’ हो । नाडा अटो शो आयोजना हुने जुन समय छ, त्यसले नेपालीहरूको महान पर्व दसैँ तथा तिहार आएका् घोषणा समेत गर्दै आएको छ । किनकी नाडा अटो शो आयोजना भएको प्रायः एक महिनापछि दसैँ आउने समय हुन्छ । दसैँको पूर्वसन्ध्यामा हुने नाडा अटो शोले दसैँको किनमेल सुरू गराउने गरेको छ । विशेषगरी हामी चाडपर्वमा नयाँ कपडा, नयाँ सर–सामान लिने र गाडी चढ्नेहरूले नयाँ गाडी तथा मोटरसाइकल किन्ने गर्दछौँ । नयाँ गाडी किनेर आफ्नो घरछिमेक तथा टीकाटालोमा जाने योजना धेरैको हुन्छ । त्यो इच्छालाई नाडा अटो शोले पूरा गर्दै आएको छ । क्रेता र बिक्रेता एकैठाउँ हुने यो ठूलो उत्सवमा हामी अत्यन्तै धेरै उत्साहित छौँ ।
हुन्डाइका कुन–कुन् गाडी लिएर नाडा अटो शोमा जाँदै हुनुहुन्छ ?
हुण्डाइसँग अहिले ११ वटा मोडलहरू छ । तर, ती सबै गाडी प्रदर्शन गर्न हामीलाई ठाउँको अभाव छ । हामीले प्राप्त गरेको ठाउँमा ४÷५ वटा मात्रै गाडी राखेर देखाउन मिल्छ । अटो शोमा लञ्च गर्नेगरी हामीसँग नयाँ मोडल छैन । तर, करिब एक महिनाअघि लञ्च गरिएको क्रेटाको नयाँ मोडलसहित आलोपालो गरेर सबै गाडी प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ । त्यसमध्ये ‘मेड इन नेपाल’ थिम राखेर ‘भेन्यु’ विशेष आकर्षणका रूपमा रहने छ । साथै, ग्राण्ड आई–१० र हामीसँग भएका दुईवटा ईभी मोडल ‘आयोनिक–५’ र ‘हुण्डाइ कोना’ पनि डिस्प्लेमा रहने छ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS