काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औं वार्षिक साधारण सभा तथा सातौं महासभाबाट मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ।
शनिबार सम्पन्न निर्वाचनमा कार्कीले १०० मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी इन्द्र बानियाँले ८७ मत पाएका थिए। यसअघि कार्की नाफिजकी उपाध्यक्ष थिइन्।
नाफिजको कार्य समिति १३ सदस्यीय हुनेछ। महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्यसहित १० पदाधिकारीलाई निर्वाचनमार्फत चयन गरेको छ। बाँकी दुई सदस्य कार्य समितिले मनोनित गर्नेछ।
निर्वाचन समिति संयोजक कपिलदेव ढकालका अनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन्। खतिवडाले १०४ मत, थापाले ९३ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत पाएका थिए।
महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत पाएका थिए। सचिवमा राजाराम न्यौपाने १२६ मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले ५७ मत पाएका थिए। कोषाध्यक्षमा मिलन विश्वकर्माले १०२ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिस्पर्धी भोला देवकोटाले ८३ मत पाएका थिए।
सदस्यतर्फ अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत प्राप्त गर्दै विजयी भएका छन्। अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत पाएका थिए। नाफिजको विधानअनुसार निवर्तमान अध्यक्ष मोदनाथ ढकालले स्वतः कार्यसमितिमा स्थान लिनेछन्।
FACEBOOK COMMENTS