भक्तपुर । ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजदेखि सुरू भएको छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर आजदेखि नगरकोटमा उक्त भ्रमण वर्ष आरम्भ भएको हो । भक्तपुरको चाँगुनारायण, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा तथा काठमाडौंको शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्ष आयोजना गरेका हुन् ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्याली प्रदर्शन गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौँ पर्यटक आइतबार नगरकोट पुगेका छन् ।
‘नगरकोटमा लाखौँ पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ,’ नगर प्रमुख खत्रीले भने । घरेलु उत्पादनका ६० कक्ष यहाँ राखिएका छन् । भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने उनको भनाइ छ । भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।
भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभे्रपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्खरापुर नगरपालिकाका होटेल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ । नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौँ–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।
FACEBOOK COMMENTS