काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्थानीयवासीसँग गरिएको प्रतिबद्धताहरु कार्यान्वयन नगरेका कारण सो सुरुङ मार्गको निर्माण कार्य ठप्प हुने गएको बताएका हुन् ।
उपसभापति अर्यालले सरकारले सो सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिब डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको जिकिर समेत गरे ।
उनले भने, ‘ब्रेक थ्रु गराउने तयारी गरिएको नागढुंगा सुरुङ मार्गको काम अहिले सरकारकै कारण ठप्प छ । स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेकै कारण सरकारले अहिले दैनिक झन्डै डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आईलागेको छ ।’
उपसभापति अर्यालले स्थानीयको माग तत्काल सम्बोधन गरी सो सुरुङमार्गको निर्माण कार्य सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराए । सरकारले सो सुरुङ मार्ग यही साता ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो ।
तर स्थानीयवासीको अवरोधको कारण अन्तिम समयमा आएर त्यसको निर्माण कार्य ठप्प भएको उपसभापति अर्यालको भनाइ थियो ।
FACEBOOK COMMENTS