काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ । भूमिगत जल सञ्चयलाई बढावा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो ।
तल्लोतटीय क्षेत्रमा सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकामा भन्दा माथि शिवपुरीमा यसअघि धाप बाँध बनाइसकिएको छ । काठमाडौँ उपत्यका उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।
शिवपुरी र ककनीडाँडा भूकम्पीय शक्ति चलखेल भइरहने पहाड भएकाले त्यस्ता क्षेत्रमा निर्माण हुने पोखरीलगायतका भौतिक संरचनाले भविष्यमा अर्को विपत् निम्तिन सक्ने वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी बताउँछन् । उनका अनुसार ठुलो भूकम्प जाँदा डाँडामाथि बढी प्रभाव पर्छ ।
शिवपुरीको केही भाग ग्रेनाइट चट्टानयुक्त भए पनि उपत्यकाको सुरक्षाका हिसाबले परियोजना सञ्चालनअघि छुट्टै भूकम्पीय ९सेस्मिक० अध्ययन हुनै पर्छ । उनले भने, “ठ्याक्कै पोखरीमुनि इपिसेन्टर पर्यो भने पानी छल्किने मात्र होइन पोखरी नै उल्टिन्छ ।” नेपालको भूगोलमा थुप्रै अन्तर्राष्ट्रिय मापदण्ड फेल खाने भएकाले त्यो पनि काम लाग्दैन । किनभने २०७२ सालको गोरखा भूकम्पले काठमाडौँ जमिन करिब दुई मिटर पश्चिम सारेको छ । त्यो त्यही आसपास भएकाले फेरि भूकम्प आउँदा हलचल हुन्छ । जमिन पश्चिम सर्दा त्यो एरियामा करिब दुई मिटर जमिनमाथि उठेकाले पनि सतर्क रहनु पर्छ ।
नागमती बाँधको संरचनागत जोखिममा थपिने भूकम्प, अति वर्षा र कमजोर संरचनामा हुने पानीको चुहावटले क्षति बढाउन सक्ने विज्ञहरूले औँल्याए । आयोजनाले आफ्नो वातावरणीय प्रभाव मूल्याङ्कनकै प्रतिवेदनमा सो कुरा स्वीकार गरेको छ । जस अनुसार बाँधका कारण त्यहाँको भूउपयोग प्रभावित हुने छ । निर्माण गतिविधि उत्खनन, ढाल कटान, आदिले त्यहाँको प्राकृतिक भूबनोट परिवर्तन हुने छ । हाल कायम रहेको पानीढलोको अवस्थामा परिवर्तन ल्याउने, भूक्षय बढाउने, नदीको पानीमा धमिलोपना बढाउने छ । उत्खनन, ढुवानी, प्रविधिको उच्च प्रयोगले धुलो, धुवाँ, ध्वनि प्रदूषण बढ्ने छ । बाँध भविष्यमा फुट्न गएमा बाढीले तल्लोतटीय क्षेत्रमा क्षति हुनेसँगै फोहोर प्रदूषण बढाउने छ ।
त्यस्तै बाँधले त्यो क्षेत्रको जैविक विविधताको विनाश उच्च बनाउने भएको छ । प्राकृतिक पानी वर्षामा तल नजाँदा नजिकका कृषियोग्य जमिनको खेती प्रत्यक्ष प्रभावित हुने र जसले मानवीय जीवनमा पनि प्रभाव पार्ने प्रतिवेदनले स्वीकार गरेको छ । यति मात्र नभई बाँध काठमाडौँ उपत्यकाको टाउकोमा धरापका रूपमा रहँदा दीर्घकालीन जोखिमको स्रोत बन्ने भएको छ । यस्तो जोखिम रहेको बाँध एसियाली विकास बैङ्कको २५ अर्ब रुपियाँको ऋणमा बनाउन लागिएकोमा पनि विज्ञहरूको आपत्ति छ । नेपाली जनताको टाउकोमा ऋण र जोखिम पर्ने गरी नागमती बाँध बनाउनुको औचित्य नरहेको वरिष्ठ इन्जिनियर रविप्रसाद राजभण्डारीले बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS