काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले रसुवामा हालै आएको विनाशकारी बाढीले नेपालको सवारी आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
एक विज्ञप्तिमार्फत बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यसले देशको आर्थिक प्रणालीमै गम्भीर असर पुर्याएको बताएकी छन् ।
उनका अनुसार ६० प्रतिशतभन्दा बढी सवारीसाधन उत्तरी नाकाबाट नेपाल भित्रिने गर्छ । यस्तोमा बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाएपछि आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ ।
चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरू अझै नेपाल प्रवेश गर्न नसकेको तथा चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको उनको भनाइ छ ।
नाइमाले सरकार र सम्बन्धित निकायहरूलाई रसुवामा बाढीले निम्त्याएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन अनुरोध गरेको छ ।
साथै, तात्कालिक रूपमा गरिहाल्नुपर्ने कैयौं आवश्यकताहरूको सन्दर्भमा नाइमाले निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि आफू सधैं तत्पर रहेको पनि बताएको छ ।
नाइमाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–
रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुर्याएको अपूरणीय क्षतिले हामीलाई अत्यन्त दुःखी बनाएको छ । यस विपद्ले धेरै परिवारको जीवन, घर, व्यवसाय र आशा एकैचोटि बगाएको छ । पीडितहरूप्रति हामी गहिरो समवेदना प्रकट गर्दै यो कठिन घडीमा उनीहरूलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गर्दछौं ।
यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुर्याएको छ। नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ । चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन् । चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ ।
यस सन्दर्भमा हामी नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दछौं । तात्कालिक रूपमा गरिहाल्नुपर्ने कैयौं आवश्यकताहरूको सन्दर्भमा नाइमाले निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि हामी सधैं तत्पर रहेको जानकारी गराउँदछौं ।
FACEBOOK COMMENTS