काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशनले गत भदौमा भएको जेन जीआन्दोलनका क्रममा क्षति पुगेका सरकारी निकायहरूलाई गरेको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी हस्तान्तरण गरेको छ ।
नाइमाका अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले मङ्गलबार एक कार्यक्रमका बीच सो सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरणका क्रममा कार्यकारी निर्देशक राजकुमार दुलालले विवरण दिँदै यातायात व्यवस्था विभाग, मीनभवनको मुख्य भवनका सम्पूर्ण झ्याल र ढोकाहरूको पुनर्निर्माण गरिएको जानकारी दिए ।
यसका साथै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक फर्निचर, फर्निसिङ, कम्प्युटर र प्रिन्टर लगायतका सामग्रीहरू उपलब्ध गराइएको छ।
हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। सोही सहयोगका कारण विभागले पुन: आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको उल्लेख गर्दै उहाँले संस्थाप्रति आभार व्यक्त गरे ।
त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रूपमा चित्रण गर्दै प्राप्त सहयोगको उच्च प्रशंसा गरे । नाइमाका अध्यक्ष रितु सिंह वैद्यले संकटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्न पाएकोमा गौरवान्वित महसुस भएको बताए । उनले आगामी दिनहरूमा पनि यस्तो सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए। नाइमाले स्थापनाको छोटो समयमै सरकारी निकायहरूसँग दीर्घकालीन साझेदारी स्थापना गर्न सफल भएको छ ।


FACEBOOK COMMENTS