दीपक थपलिया
जनरल म्यानेजर (जीएम)
लक्ष्मी हुन्डाइ प्रालि (लक्ष्मी ग्रुपको भगिनी संस्था)
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले यही साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो, २०२५’ आयोजना गर्दैछ । संस्था गठन भएपछि पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोमा ५० वटा भन्दा बढी ब्राण्डले सहभागिता जनाउने र ३५ वटा नयाँ भेहिकलहरू सार्वजनिक गर्ने तयारी रहेको नाइमाले बताइसकेको छ । यसै सेरोफेरोमा नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता कम्पनी लक्ष्मी हुन्डाइले के–कस्ता प्रडक्टहरू एक्स्पोमा ल्याउँदैछ भन्नेबारे कम्पनीमा जनरल म्यानेजर (जीएम) दीपक थपलियासँग कर्पोरेट खबरले केही जिज्ञासाहरू राखेको छ । प्रस्तुत छ, थपलियासँगको यो छोटो कुराकानी र भिडिओ सम्वाद :–
नाइमा मोबिलिटी एक्स्पो, २०२५ नजिकिँदै छ । एक्जिविटरको रूपमा कत्तिको उत्साहित हुनुहुन्छ ?
अटो शो भन्नेवित्तिकै हामी अटो क्षेत्रका व्यापारी व्यवसायीहरू उत्साहित नहुने कुरै भएन, निकै उत्साहित छौँ । आफूसँग भएको गाडी र त्यसको फिचर्स, टेक्नोलोजी अनि प्रडक्टका आयामहरूबारे आफ्ना ग्राहकहरूलाई जानकारी दिन पाइने भएकाले पनि हामी उत्साहित छौँ । अर्को कुरा, विगतमा प्राय: मुख्य चाडपर्वको मुखैमा यस्तो शो हुने गरेको थियो, तर यो वर्ष करिब दुई महिनाअगाडि साउनमै एक्स्पो आयोजना हुँदैछ । यसले पनि हामीलाई थप उत्साहित बनाएको छ ।
नेपालमा अटो शोहरू विगतदेखि हुँदै आएका छन् । त्यसमा हुन्डाइले आफ्नो सशक्त उपस्थिति जनाएको देखिन्छ । यो वर्ष नयाँ संस्था नाइमाले पहिलोपटक मोबिलिटी एक्स्पो आयोजना गर्दैछ । यसले तपाइँहरूमा केही फरक अनुभूति गराउँदै छ ?
हामीलाई भन्दा पनि हाम्रा ग्राहकहरू जो एक्स्पो भिजिट गर्न आउनुहुन्छ, उहाँहरूलाई फरक अनुभूति दिलाउनु नाइमा मोबिलिटी एक्स्पो, २०२५ को मुख्य उद्देश्य हो र मलाई लाग्छ यो एक्स्पोले पक्कै पनि फरक अनुभूति दिलाउने नै छ । किनकी यो एक्स्पो फरक ढङ्गबाट प्रस्तुत हुँदैन । एउटा एक्स्पोको समग्र व्यवस्थापन, स्टलहरूको आकार, उपलब्धता र विगतका तुलनामा फरक र सहज व्यवस्थापनका कारण यो एक्स्पोले हाम्रा ग्राहकहरूलाई फरक अनुभूति दिलाउने पक्का छ ।
यद्यपि, यो एक्स्पोका लागि चुनौतीहरू पनि छन् । जस्तो: हामी वर्षाको मध्य सिजनमा यो एक्स्पो आयोजना गर्दैछौँ त्यसले पनि केही प्रभावित तुल्याउन सक्छ । अर्को प्रदर्शनी स्थलको क्षमता सीमितता, पार्किङको अप्ठ्यारो पक्ष चुनौतीका रूपमा मैले देखेको छु । तर, नाइमाको एक्स्पो व्यवस्थापन कमिटीले त्यसलाई व्यवस्थापन गरेको छ । जुन कुरा हामीले केही दिनअघिको पत्रकार सम्मेलनबाट पनि जानकारी पाइसकेका छौँ ।
हुन्डाइले यो मोबिलिटी एक्स्पोलाई कसरी सदुपयोग गर्दैछ ?
विगतदेखि हाम्रा अटो एक्स्पो वा शोहरूलाई अत्येन्तै कमर्सियल रूपमा अगाडि बढ्ने गरेका छन् । अटो शोलाई देखाएर कतिवटा गाडी बिक्री वा बुकिङ भयो र कतिवटा डेलीभरी गरेँ अनि कति बाँकी छ भन्ने कुरालाई लिएर सफलता र असफलताको मापन गर्ने चलन विद्यमान छ । चाडपर्वको पूर्वसन्ध्यामा भएका त्यस्ता शोहरूको मूल्याङ्कन त्यस हिसाबबाट गरिनु केही हदसम्म ठिक पनि होला, तर सधैं गाडी बिक्री र बुकिङलाई मात्र सफलता वा असफलताको मानक बनाइनु हुँदैन भन्ने मेरो व्यक्तिगत विचार छ । एक्स्पोमा छुट, आकर्षण र उपभोक्तालाई धेरै फाइदा दिने कुरा भन्दा पनि एक्स्पो वा अटो शोहरू प्रडक्ट र फिचर्सबारे अधिकतम जानकारी दिने थलोका रूपमा विकास गरिनुपर्छ भन्ने मलाई लागेको छ ।
विश्वास छ, नाइमाले गर्न लागेको यो पहिलो मोबिलिटी एक्स्पोले मेरो विचारको कदर गर्दै आफ्नो गतिविधि अगाडि बढ्नेछ । अर्थात् प्रडक्ट बेच्ने भन्दा त्यसका फिचर्सबारे ग्राहक वा आम भिजिटर्सलाई धेरै भन्दा धेरै जानकारी दिने उद्देश्यका साथ अगाडि बढोस् । र, मलाई लाग्छ नेपालको ठूला चाडपर्वको धेरै अगाडि यो एक्स्पो आयोजना हुने भएकाले हामी बिक्रीमा भन्दा जानकारीमा ध्यान दिनेछौँ । आफ्नो ब्राण्डको स्ट्रेन्थ, लाइनअप र भविष्यमा के–के ल्याउँछौँ, गाडीको लाइनअप कति रेडी छ भन्ने कुराको जानकारी दिन सकेको खण्डमा समग्र अटो क्षेत्रको बजार बढ्छ र त्यसको लाभ सबैले लिन सक्छन् । गाडी कुन र कसको किन्छन् भन्ने कुरा गौण विषय हो ।
जहाँसम्म हुन्डाइले के गर्दैछ भन्ने प्रश्न छ, हामी मैले उल्लेख गरेको विषयहरूकै सेरोफेरोमा रहेर ग्राहक वा भिजिटरहरूलाई बढी भन्दा बढी जानकारी दिने उद्देश्यका साथ तयारी गरिरहेका छौँ । त्यसका लागि हाम्रा विभिन्न विभागहरूले विभागीय दायित्व र जिम्मेवारी अन्तर्गत रहेर आफ्नो तयारीहरू गरिरहनुभएको छ । तीनै तयारी नाइमा मोबिलिटी एक्स्पोमा पस्किनेछौँ । हाम्रो स्टल भिजिट गर्नुहुनेहरूले नेपालमा हुन्डाइको स्ट्रेन्थ, पार्टस अफ प्रडक्ट लाइनअप, अफरबाहेकको स्ट्रेन्थ, हामीले के भिजन लिएर काम गरिरहेका छौँ, हाम्रो तयारी केकेमा छ भन्ने कुरा बुझाउने प्रयास हाम्रो रहने छ । कम्तिमा हुन्डाइले दसैंको अफर अहिले घोषणा गर्दैन । हामीले यो गर्दैछौँ भने अरुले पनि त्यसै गर्नुहुन्छ होला भन्ने मलाइ लागेको छ ।
सबै स्टलमा गइसकेपछि भिजिटरहरूले ए ! गाडी किन्दा यस्तो यस्तो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ भन्ने कुराको भरपूर जानकारी प्राप्त गर्नुहुनेछ भने फरक अनुभवसमेत गर्न पाउनुहुनेछ । यसले जानकारी र चेतनाको स्तर बढाउने छ । जसले सबैभन्दा बढी कन्जुमरलाई नै बढी फाइदा र मद्दत पुग्नेछ ।
पैसा तिरेर स्टल किन्नुभएको छ, गाडी बिक्रीमा ध्यान दिदैनौँ पनि भन्नुहुन्छ, दसैंको स्किम पनि अहिले ल्याउँदैनौँ भन्नुहुन्छ । आखिर नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाइले के गर्न खोजिरहेको छ ?
हामीले गर्ने धेरै कुरा त मैले उल्लेख गरिसकेँ । हामी दसैंको स्किम दसैंमै रिलिज गर्छौँ । हाम्रो कस्टमरसँग हामीले ब्राण्ड बुझाउने बेला हो यो त्यसका लागि मात्रै हाम्रो तयारी छ । त्यसकारण हामीले यो एक्स्पोलाई कमर्सियल एक्स्पेक्टबाट हेरेका छैनौँ । जति कस्टमर, भिजिटर, विद्यार्थी र चासो बोकेका, एसोसिएट वा नन एसोसिएट व्यक्ति व्यक्तित्वहरू आउनुहुन्छ उहाँहरू कुनै न कुनै जिज्ञासा लिएरै आउनुहुन्छ । त्यो जिज्ञासा समाधान गर्न अन्तर्क्रियालगायत माध्यमबाट धेरै कुरा बुझाउने प्रयत्न गर्नेछौँ । हामी के हौँ, के तयारी छ र भविष्यमा के गर्दैछौँलगायत विषयबारे प्रर्याप्त जानकारी दिनेछौँ । ती जानकारी दिइसकेपछि ग्राहकले गाडी कहिले, कुन र कसरी खरिद गर्नुहुन्छ उहाँहरूको कुरा हो ।
लक्ष्मी हुन्डाइ प्रालिसँग अहिले आईसीई र ईभी दुवैथरीका गाडी छन् । हुन्डाइको स्टलमा पुग्ने भिजिटरले देख्न पाउने, हेर्न पाउने गाडीहरू कुन्–कुन् हुन् ?
मोबिलिटी भनेको प्रोग्रेसको एउटा परिभाषा हो, यो कुरामा हाम्रो उच्च विश्वास । मोबिलिटी नभएको भए संसार आज यो तहको प्रोग्रेसमा पुग्ने थिएन । मोबिलिटीमा मानिसहरूको आ–आफ्नै आवश्यकताहरू हुन्छन् । त्यसकारण मोबिलिटीका फरक–फरक प्रकारका समाधान हुन्छन् । आजसम्मका ती समाधान हुन्डाइसँग छ ।
अहिले नेपालमा ईभीमा धेरैको आकर्षण भएका कारण यही नै भविष्यको मोबिलिटी सोलुसन हो भनेर बुझिएको छ, तर त्यो होइन त्यसबाहेकका पनि धेरै कुराहरू छन् जो संसारमा चलिरहेका छन् । नेपालको परिवेशमा हेर्दा आजको दिनमा दुईवटा लाइनअप छ, आईसीई र ईभी । हामीसँग यी दुईवटै छन् यिनैका फरक–फरक भेरियन्टहरू शोकेस गर्छौँ । त्यसमा पाँचदेखि ६ वटासम्म लाइनअप हुनसक्छ । अहिले हामीसँग आईसीईमा सबैभन्दा सस्तो रेञ्जमा ग्राण्ड आई–१० र सबैभन्दा माथिको रेञ्जमा सान्टा फे छ । त्यस्तै, ईभीमा कोना, आयोनिक, क्रेटा ईभी छ ।
कुराकानीको थप विषयहरूबारे जान्न यो भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS