काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले नवगठित संघ नाइमालाई सबै उद्योगहरूको साझा आवाज र समाजको हितका लागि भरपर्दो संस्था बनाउने बताएकी छिन् ।
नेपालको अटोमोबाइल व्यवसायीको हक, हित र अधिकारको रक्षाका लागि निर्माण गरिएको नयाँ सङ्गठन नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा)को औपचारिक घोषणा गर्दै उनले नेपालको मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको एकीकृत मञ्चको रूपमा काम गर्ने उद्देश्यसहित संघ स्थापना गरिएको र यसलाई सबैको साझा र भरपर्दो बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
‘नाइमाले नेपालका मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको एकीकृत मञ्चको रूपमा कार्य गर्नेछ । प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा साझा आवाजको वकालत गर्ने उद्देश्यका साथ यो संघ गठन गरिएको हो,’ अध्यक्ष वैद्यले भनिन्, ‘रणनीतिक वकालत, नवीनताको समर्थन र सहकार्यद्वारा प्रगति गर्ने यसको प्रमुख लक्ष्य र उद्देश्य हो । संघले सरकार, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर ‘सबैका लागि गतिशीलता’ सम्भव बनाउने अटोमोटिभ प्रणाली निर्माण गर्ने छ ।’
यस्तै, उनले नेपालको अटोमोबाइल परिदृश्यलाई सक्रिय रूपमा आकार दिँदै अग्रगामी नीतिहरूको वकालत गर्ने, दिगो नवीनताहरूलाई सम्भव बनाउने, उपभोक्ताहरूलाई शिक्षाद्वारा सशक्त बनाउने, सडक सुरक्षालाई प्राथमिकता दिने, पूर्वाधार विकास गर्ने, दक्षत जनशक्ति बढाउने र सहकार्यपूर्ण वातावरणलाई प्रवर्द्धन गर्ने आफूहरूको उद्देश्य रहेको पनि प्रष्ट पारेकी छिन् । उनले भनिन्, ‘नाइमालाई उद्योगको साझा आवाज र समाजको हितका लागि भरपर्दो संस्था बनाउने छौँ ।’
उनले सबैका लागि मोबिलिटी समाधान, सुरक्षा र पूर्वाधार अभिवृद्धि, नीति तथा नियामकीय वकालत, मानव संसाधन र उद्योगस्तरीय अभ्यास तथा उपभोक्ता सशक्तीकरण र साझेदारी मोबिलिटी नाइमाको आधारभूत लक्ष्य रहेको बताएकी छिन् । यस्तै, उनले नाइमा राजनीतिक रूपले नेपालकै पहिलो स्वतन्त्र संघ भएको दाबी गर्दै नेतृत्वका लागि कहिल्यै निर्वाचन नगर्ने र सधैं सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रणसमेत गरेकी छिन् ।

संघमा सुहृदराज घिमिरे (कन्टिनेन्टल ट्रेडिङ), शेखर गोल्छा (एचएच एण्ड को प्रालि), क्याबिनेट श्रेष्ठ (अग्नि इन्क प्रालि), सौरभ ज्योति (स्याकर ट्रेडिङ), सन्दीपकुमार शारडा (एसपीजी अटोमोबाइल्स प्रालि), निराकार श्रेष्ठ (लक्ष्मी मोटर कर्पोरेशन प्रालि), यमुना श्रेष्ठ (साइमेक्स इन्क प्रालि), निकुञ्ज अग्रवाल (प्यारामाउन्ट मोटर्स प्रालि), हेमन्त गोल्छा (सांग्रिला मोटर्स प्रालि) र उदयन काब्रा (ओम्नी मोटर्स प्रालि) सदस्य छन् ।

भिडिओ-

यो पनि पढ्नुहोस्–
‘नाडा र नाइमा अन्तरनिर्भर संस्था हुन्, कम्पनीहरू दुईवटै संघको सदस्य रहन सक्छन्’
‘नाडा र नाइमा अन्तरनिर्भर संस्था हुन्, कम्पनीहरू दुईवटै संघको सदस्य रहन सक्छन्’