कास्की — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा आएका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने बताएका हुन् ।
‘जनतासँग माओवादी रुपान्तरण अभियान’को तयारीका लागि भएको बैठकमा सहभागी हुन आएका गृहमन्त्री श्रेष्ठले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै अहिले चर्चामा आएका काण्डमा जोसुकै दोषी देखिए पनि कोही नछुट्ने बताए । ‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ,’ उनले भने, ‘त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन ।’
एमालेले माग गरेको उच्चस्तरीय छानबिन समिति बन्दा अनुसन्धान नै परिणामुखी नहुने भएकाले त्यो समिति आवश्यक नभएको उनले बताए । ‘यसरी बनाइने समितिमा दक्ष जनशक्ति हुँदैनन,’ उनले थपे, ‘प्रतिवेदन बनाइने तर, कार्यान्वयन नहुने हुन्छ । राज्यले अनुसन्धानकै लागि बनाएको संयन्त्र प्रहरी (सीआईबी)लाई कसरी अविश्वास गर्न मिल्छ ?’ काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था नै पूरै परिवर्तन गरिने गृहकार्य भएको उनले बताए ।
FACEBOOK COMMENTS