काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिला हुदाँ अर्थतन्त्र सुधारको प्रयासमा कमी आएको बताएका छन् ।
मंगलबार प्रेस सेन्टर रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अर्थतन्त्र सुधार गरी समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताए ।
उनले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाउन केही ढिलाइ भएका कारण मुलुकको अर्थतन्त्र सुधारका लागि हुनुपर्ने प्रयासमा केही कमी भएको साँचो हो । तर अब एक–दुई दिनमै अर्थतन्त्रका समस्याहरु समाधान दिनेगरी सरकार अघि बढेको छ ।’
उनले अब छिट्टै अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बताए । आफू भौतिक पूर्वाधार मन्त्री हुँदा धेरै सुधारका काम भएको बताउँदै अब गृहमन्त्रालयमा आर्थिक तथा कुनै चलखेल नहुने दावी गरे । संविधानअनुसार नागरिकताको अधिकार प्राप्त नगरेका नागरिकलाई नागरिकता प्रदान गरिने श्रेष्ठले जनाए ।
उनले भने, ‘संविधानको अधिकारभित्र रहेका नागरिकलाई नागरिकता दिन्छौं । कुनै नागरिकलाई नागरिकताविहीन बनाउन सकिन्न, तर नागरिकता विधेयकका केही विषयमा राष्ट्रिय सहमतिको प्रयास गरिन्छ ।’
FACEBOOK COMMENTS