काठमाडौं । नेकपा (माओवादी) केन्द्रका राष्ट्रियसभा सांसद नाराणकाजी श्रेष्ठले सरकारमा मन्त्री संसद्बाहिरबाट नियुक्त गर्न प्रस्ताव गरेका छन् ।
आज बुधबारको राष्ट्रियसभा बैठकमा उनले सांसदहरूको सङ्ख्या घटाउन पनि माग गरे ।
उनले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले यथास्थितिवादको निरन्तरतामा रहेको आरोप लगाउँदै यसले मुलुकको विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गरे ।
सांसद श्रेष्ठले संरचनात्मक परिवर्तनसहितको क्रमभङ्गता अन्त्य गरी मुलुकलाई सङ्कटबाट जोगाउने किसिमले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
‘राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूपमा परिवर्तन गरौँ, महँगो र भ्रष्टीकृत निर्वाचन प्रणाली फेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ, मन्त्री संसद्बाहिरबाट नियुक्त गरौँ,’ उनले भने ।
सुशासनका क्षेत्रमा ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले कमजोर विधिको शासन र भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने बताए ।
‘अब निरन्तरतामा क्रमभङ्गता आवश्यक छ । सुशासन, मितव्ययिता आवश्यकता हो,’ उनले भने,’सांसदहरूको सङ्ख्या, मन्त्रिमण्डल र प्रदेशसभा सांसद तथा प्रदेश मन्त्रिमण्डलको सङ्ख्या घटाऔँ, अब नयाँ ढङ्गले जानेबाहेक कुनै विकल्प छैन ।’
राज्यका विभिन्न अङ्गको पुनरवलोकन र पुनःसंरचनाको आवश्यकता औँल्याउँदै उनले विश्वविद्यालय, न्यायालय, संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS