काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा पदबहालीपछि उनले दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । साथै उनले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउनसमेत ध्यान केन्द्रित हुने बताए ।
मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा तथा प्रवद्र्धन गर्नु सरकारको प्राथमिकताको विषय भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले यही विषयमा नै मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।
मुलुकको परराष्ट्र नीति स्वतन्त्रता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र समानताको आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर सञ्चालन गरिएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन कूटनीतिक दक्षता आवश्यक भएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामी बहुपक्षीय र क्षेत्रीय मञ्चमा सहभागिता जनाउन, राष्ट्रिय हितका पक्षपोषण गर्न र राष्ट्रिय हित अनुकूलको निर्णय गराउन तथा विश्व शान्तिको पक्षमा आवाज उठाउने छौँ”, उनले विदेशमा रहेका नेपाली कामदारको हितको रक्षा गर्ने विषय सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
FACEBOOK COMMENTS