मनाङ । मनाङ जिल्लाको नार्पाभूमी गाउँपालिकाअन्तर्गत विभिन्न बस्ती जोड्ने मार्गमा जमेको बाक्लो हिउँ पाँच दिनको निरन्तर प्रयासपछि हटाइएको छ ।
हिमपातका कारण विशेषगरी छ्याँसे, मेता र च्याखुँ क्षेत्रका सडक पूर्ण रूपमा अवरुद्ध भएका थिए। मार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि प्रयोग हुने खच्चड तथा स्थानीय बासिन्दाको आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको थियो ।
मार्ग खुलाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्रीसहित खटिएको टोली, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयास गरिएको थियो। तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी पाँच दिनसम्म निरन्तर रूपमा हिउँ पन्छाउने कार्यमा जुटेका थिए ।
फागुन ६ गतेदेखि सुरु भएको अभियान अवरुद्ध बाटो खुलाएसँगै सम्पन्न भएको जनाइएको छ । मार्ग सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन् ।
FACEBOOK COMMENTS