काठमाडौँ । नासाको आर्टेमिस–२ अभियानअन्तर्गत चन्द्रमातर्फ यात्रा गरिरहेका चार अन्तरिक्ष यात्रीले पृथ्वीका आकर्षक तस्बिर सार्वजनिक गरेका छन् । अन्तरिक्षबाट खिचिएका तस्बिरमा पृथ्वी निलो रंगमा निकै सुन्दर देखिएको छ ।
एक तस्बिरमा पृथ्वीको गोलाकार घुमाउरो भाग देखिएको छ भने अर्को तस्बिरमा सेता बादलले ढाकिएको पूरै पृथ्वी स्पष्ट देखिन्छ । यी दृश्यले अन्तरिक्षबाट पृथ्वीको सुन्दरता झनै उजागर गरेको छ ।
अभियानमा सहभागी चार जना अन्तरिक्ष यात्रीमध्ये तीन जना अमेरिकी र एक जना क्यानडाका रहेका छन् । उनीहरू हाल पृथ्वीबाट करिब १ लाख ८० हजार किलोमिटर टाढा पुगिसकेका छन् भने अझै करिब २ लाख ४० हजार किलोमिटर यात्रा गर्न बाँकी छ । उनीहरू आगामी अप्रिल ६ सम्म चन्द्रमाको नजिक पुग्ने योजना रहेको छ । नासाले यो अभियान आधा पुरा भएको जानकारी दिएको छ ।
अप्रिल १ को बिहान ‘स्पेस लञ्च प्रणाली’ मार्फत ओरियन अन्तरिक्षयानमा सवार भएर उनीहरू चन्द्रमातर्फ प्रस्थान गरेका थिए । सन् १९७२ पछि पहिलोपटक मानिस चन्द्रमाको नजिक पुग्न लागेको हो । यद्यपि यस अभियानमा अन्तरिक्ष यात्रीले चन्द्रमामा अवतरण गर्ने छैनन् । उनीहरू चन्द्रमाको कक्षामा परिक्रमा गरेर पुन: पृथ्वी फर्कने कार्यक्रम रहेको छ ।
