काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।
सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत माओमिङले आज शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नेपालका लागि नवनियुक्त राजदूत माओमिङलाई स्वागत गर्दै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध अझ घनिष्ट र उचाइमा पुग्ने विश्वास लिएको बताएका थिए ।
नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए । गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सह्रानीय रहेको बताए ।
नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने बताए ।

चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे । बिआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुनेमा जोड दिए ।

अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि पहल गर्न पनि राजदूत चाङलाई आग्रह गरे । भेटमा उनले कनेक्टिभिटीका लागि सडक सञ्जाल र सिमा नाकाहरुको पूर्वाधार विकासमा पनि पहल गर्न अनुरोध गरेका थिए । सो अवसरमा राजदूत माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए ।

उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको बताए ।

नेपालमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत माओमिङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको बताए ।

बिआरआई लगायत चीन–नेपालबीच भएका सम्झौताहरु छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको बताए ।
FACEBOOK COMMENTS