काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा तीनवटा वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ ।
बैंक सुपरिवेक्षण विभागले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कारबाही गरेको हो ।
प्रभु बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनलाई नगद जरिवाना समेत गराएको छ ।
शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रभु बैंकले पटक-पटक दिइएका निर्देशनहरू पालना नगरेको, कर्जाको वर्गीकरण निर्देशन अनुसार नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको राष्ट्र बैंकले जनाएको छ । बैंकले राष्ट्र बैंकमा पेस गरेको कर्जा विवरण र बैंकको आफ्नै सफ्टवेयर (सिस्टम) बाट प्राप्त हुने विवरण फरक-फरक भेटिएपछि सिइओ शेरचनलाई व्यक्तिगत रूपमा जरिवाना गरिएको हो ।
यसैगरी, प्रभु बैंकको सञ्चालक समितिलाई पनि गम्भीर प्रकृतिका कमजोरीहरू सुधार गर्न र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन ‘कवुलियतनामा’ गराइएको छ ।
‘प्रभु बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरू समयमै सुधार गर्न बैंक अग्रसर नभएकोले उक्त बैंकको सञ्चालक समितिलाई यस अघि सचेत गराई उल्लिखित कैफियत समयमै सुधार गर्न सुधारको योजना तर्जुमा गरी लागू गर्न बैंकको सञ्चालक समितिलाई निर्देशन दिइएको थियो,’ राष्ट्र बैंकले कारवाही गर्दै भनेको छ, ‘२०८१ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा २०८२ मा गरिएको उक्त बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा समेत ती कैफियतहरूमा अपेक्षित सुधार नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन,२०५८ (संशोधन समेत) को दफा १०० को उपदफा १ को खण्ड (ख) बमोजिम सुधारात्मक कदम चाल्नका लागि प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई कबुलियतनामा गराइएको छ ।’