काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १७५ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो ।
बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ ।
उक्त निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी आगामी माघ २९ गते हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड र त्यसपछि १० करोडले भाग जाने गरी अधिकतम आह्वान रकमसम्मको रकम बोल गर्न सकिने व्यवस्था गरिएको छ ।
निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमश: आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोलको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ ।
आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।