काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चिनी चामल तथा मैदा पिठोको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । मञ्चले सोमबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाउँदै चिनी चामल तथा मैदा पिठोको मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराएको हो ।
अर्थ मन्त्रालयले १५ प्रतिशत भन्सार महसुल छुट दिँदा पनि बजार मूल्यभन्दा बढि मूल्य पर्दा चिनी आयात गर्ने अवस्था नै नरहेको बताएको छ ।
अघिल्लो सरकारको अर्थ मन्त्रालयको नेतृत्व गर्ने व्यक्ति आफै कालोबजारी, तस्करी तथा बिचौलियाको हातमा बिक्दा सम्मानीय प्रधानमन्त्रीको निर्देशन, संसदीय समितिको निर्देशन, आपूर्ति मन्त्रालयको आग्रह तथा आम उपभोक्ताको आवश्यकतालाई समेत नजरअन्दाज गर्दा अहिले बजारमा ९० रुपैयाँ प्रति किलोमा झरी सकेको चिनी अहिले ११० रुपैयां प्रति किलो पुगी सकेको, जिरा मसिनो र मोटा चामल प्रति प्याकेटमा नै ८०० रुपैयां सम्म बृध्दि भई सकेको आंटा तथा मैदाको मूल्य पनि करिव ३० प्रतिशत बढेको विज्ञप्तिमा उल्लेख छ ।
यस मूल्य वृद्धिलाई गम्भिर रुपमा नलिए भयावह स्थिति आउन सक्ने मञ्चको भनाइ छ । त्यसैले आगामी आर्थिक बर्षमा आम नागरिकलाई दैनिक उपभोग्यवस्तुहरुबाट राहत दिलाउन तत्काल ठोस कदम चाल्नु पर्ने माग मञ्चको छ ।
FACEBOOK COMMENTS